खेलकुद

आइपीएल : दिल्लीको रोमाञ्चक जीत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले किंग्स एलेभेन पञ्जाबलाई रोमाञ्चक खेलमा हराएको छ । निर्धारित ओभरमा दुबै टोलीको स्कोर बराबरी भएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा दिल्लीले बाजी मार्यो ।

युएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा निर्धारित २० ओभरमा दुवै टोलीले समान १५७ रन बनाए । त्यसपछि खेल सुपर ओभरमा पुगेको हो । त्यसक्रममा पञ्जावले पहिले ब्याटिङ गर्दै २ विकेट गुमाएर जम्मा २ रन जोड्यो ।

पञ्जावका कप्तान केएल राहुल र निकोलस पुरनले सुपर ओभरमा ब्याटिङका लागि आएका थिए । दिल्लीका फास्ट बलर कागिसो रबाडाले दुवै खेलाडीलाई आउट गराउन सफल भए । उनी चम्किएको खेलमा पहिलो बलमा रबाडाले २ रन दिए । तर, त्यसपछि भने रन दिएनन् ।


दिल्लीले सुपर ओभरमा ३ रनको लक्ष्य २ बल खेल्दै पूरा गरेको हो । त्यसअघि मार्कुस स्टोइनिसको विष्फोटक इनिंगको मद्दतमा दिल्लीले निर्धारित २० ओभरमा १५७ रन जोडेको थियो । उनले २१ बलमा ५३ रन बनाए ।

उनले टोलीका लागि अन्तिम ओभरमा मात्रै २५ रन जोडे । स्टोइनिसले ७ चौका र ३ छक्का प्रहार गरे । १५८ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबले पनि १५७ रन मात्रै जोडपछि खेल सुपर ओभरमा पुगेको हो ।