स्वास्थ्य

वीर अस्पतालमा कैदीबन्दीको मृत्युपछि जेल र अस्पतालप्रति प्रश्नै-प्रश्न

काठमाडौं । वीर अस्पतालमा एक जना कैदीबन्दीको मृत्यु प्रकरणले आज दिनभर सामाजिक संजाल तात्यो । ज्यान गुमाएका एक कैदीबन्दीको शव असामान्य देखेपछि यो विषयलाई आफन्तले सामाजिक सञ्जालमा ल्याए । सामाजिक संजालमा भने यो विषयलाई अनेक दृष्टिकोणबाट व्याख्या शुरु भएको छ ।

परिवारले यो विषयलाई बिरामीका कारण नभई हत्या भएको आरोप लगाएका छन् । बुटवल घर भएका रामलखन जैसवाल विगत सात वर्षदेखि थुनामा थिए । उनी कर्तव्य ज्यान मुद्दामा जेल परेका हुन् ।

तर, केन्द्रिय कारागारमा रहेकै अवस्थामा बिरामी परेका उनलाई वीर अस्पताल उपचारका लागि ल्याइएको थियो । अस्पताल ल्याउना साथ उनको ज्यान गएको र परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टी भएको अस्पताल प्रशासनले जनाएको छ । तर, परिवारले भने यो हत्या हो भन्दै प्रशासनको दावि मान्न तयार छैनन् ।

उता, वीर अस्पतालले मङ्गलबार साँझ विज्ञप्ति निकाल्दै सामाजिक सञ्जालमा आएका विवादास्पद विषयप्रति आपत्ति प्रकट गरेको छ ।

‘कोरोना सङ्क्रमित ती व्यक्तिलाई असोज ३ गते राति वीर अस्पतालको आकस्मिक कक्षमा ल्याइएको अस्पतालले जनाएको छ । उनको आकस्मिक कक्षमा ल्याएर जाँच गर्ने बित्तिकै मृत्यु भइसकेको थियो, त्यसको जानकारी परिवारलाई दिएका हौँ । सेन्टर जेलबाट आएकाले त्यहाँ कोभिडको धेरै केस भएकाले पीसीआर गर्नुपर्ने भएर असोज ४ गते जाँच गर्न नमुना पठाएकोमा ५ गते रिर्पोट पोजेटिभ आएको हो’, विज्ञप्तिमा उल्लेख छ ।

गर्मीका कारण ती व्यक्तिको शरीर बिग्रन लागेको र कोभिड भएका व्यक्तिको शव अन्यले छुन नमिल्ने भएकाले शव राख्ने स्थानमा राखेको अस्पतालको भनाई छ ।
‘परिवारले बिग्रन लागेको शरीर देखेकाले हत्या गरिएको आशङ्का गरेको तर त्यस्तो नभएको अस्पतालले उल्लेख गरेको छ ।

अस्पतालका अनुसार प्रहरीको रोहबरमा परिवारलाई शव देखाउने कार्य भइरहेको छ । त्यसपछि शव नेपाली सेनाले व्यवस्थापन गर्ने छ । अस्पताल प्रशासनले मेडिकल अवस्थालाई नबुझी केही सञ्चारमाध्यममा आँखा निकालिएको, चोटपटक लागेको, घाँटी काटिएको जस्ता भ्रामक प्रचार भएको प्रति समेत अस्पतालले खण्डन गरेको छ ।