विज्ञान प्रविधि

हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधा

काठमाडौं । सरकारले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधा उपलब्ध गराएको छ । यसअघि नेपाल एयरलाइन्सले मात्र नेपालमा ग्राउन्ड ह्यान्डलिङको सेवा गर्न पाउने गरी अनुमति पाएको थियो । सरकारले दिएको अनुमतिसँगै अब त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हिमालयले आफ्ना जहाज र यात्रुको व्यवस्थापन कम्पनीले स्वयमःले गर्न पाउने छ ।

कम्पनीले आवश्यक पर्ने उपकरण र जनशक्ति समेत आफैं राख्न सक्नेछ । यसले निगमको आम्दानी भने खुम्चिने छ । हिमालयले निगमलाई बुझाउनु पर्ने रकम जोगिने छ ।

ग्राउन्ड ह्यान्डलिङअन्तर्गत विमानमा यात्रु लैजाने, विमान रोकिएपछि विमानबाट यात्रु ओराल्ने भर्‍याङ हाल्ने, बस लिएर जाने, यात्रुलाई टर्मिनलसम्म ल्याएर छोड्ने, विमानमा ब्यागेज हाल्ने र झार्ने, ब्यागेज बेल्टमा व्यवस्थापन गर्ने, टिकेटिङसहितका काम कम्पनी अब आफैले गर्न सक्नेछ ।

सातामा ३५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको सुविधा दिन सकिने प्रावधान अनुसार हिमालयले अनुमति पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाई छ ।