विज्ञान प्रविधि

शुक्रबार पनि थामिने छैन वर्षा, कुन कुन क्षेत्रमा छ जोखिम ?

काठमाडौं । नेपालमा मनसुन लम्बिएको छ । यसले देशभर निरन्तर वर्षा समेत गराइरहेको छ । पछिल्लो तीन दिनदेखि जारी वर्षा शुक्रबार समेत थामिने छैन । मौसम पुर्वानुमान महाशाखाका अनुसार शुक्रवार देशका विभिन्न स्थानमा पानी पर्नेछ । यसले तराईमा जलस्तर बढाउने भएको छ । पहाडमा पहिरोको जोखिम उत्तिकै रहनेछ ।

भारतको मध्य प्रदेशको पुर्वी भूभागमा न्यून चापीय क्षेत्र उत्तर पुर्व सरेका कारण त्यसको प्रभावले नेपालमा वर्षा निम्त्याएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

दिउँसो देशभर सामान्यदेखि अधिकांश बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने भएको छ । प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

शुक्रवार राती पनि देशभर सामान्यदेखि अधिकांश बदली रहने र केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ । प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थान भारी वर्षा हुने देखिएको छ ।

आगामी २४ घण्टामा प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १(२ स्थानहरुमा भारी वर्षाको सम्भावना छ । यसले नदीमा पानीको बहाव बढाउने छ । पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै विभागले सचेत बनाएको छ ।