फिचर

साउनमा रेमिट्यान्स आप्रवाहमा उत्साहजनक वृद्धि, एक महिनामा आयो ९३ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना (साउन)मा विदेशबाट नेपालीले आफ्नो मुलुक र परिवारका लागि उत्साहजनक रुपमा रेमिट्यान्स पठाएका छन् । नेपालीबाट एक महिनामा ९२ अर्ब ७१ करोड रुपैयाँ नेपाल आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा अघिल्लो महिनाको तुलनामा २३ प्रतिशतले रेमिट्यान्स आप्रवाह बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह अघिल्लो महिनाको तुलनामा मात्र २ प्रतिशत बढी थियो ।

तथ्यांक अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो तथ्यांक मात्र ०.७ प्रतिशतले बढी थियो । साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या भने ९९.२ प्रतिशतले घटेको छ ।

कोरोना महामारीका कारण नेपालबाट विदेश जानेहरु भने निकै कम छन् । त्यस विपरित विदेशबाट नेपाल फर्कनेको संख्या भने उच्च छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९.० प्रतिशत कम भएको थियो ।

राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या यो अवधिमा ८०.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशत कम भएको थियो ।