फिचर

लकडाउनयता विदेशबाट फर्किए ७७ हजार नेपाली

काठमाडौं । लकडाउनयता संसारका ३२ मुलुकबाट समस्यामा रहेका करीव ७७ हजार नेपाली घर फर्किएका छन् । विदेशमा काम गुमाएका, घुमघामका सिलसिलामा विदेश पुगेर अड्किएका, गैरकानूनी रुपमा बसिररहेका नेपाली घर फर्किएका छन् । नियमित उडान शुरु भएपछि भने स्वच्छाले घर फर्कने नेपालीसमेत यो सूचिमा थपिएका छन् ।

कोभिड–१९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश फर्किएको कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र (सिसीएमसी)ले जनाएको छ ।

बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट नेपाली घर आएका हुन् । यसरी घर फर्कनेमध्ये सवैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट छन् । यो मुलुकबाट २२ हजार २१४ जना नेपाली घर आए । सबभन्दा कम श्रीलंकाबाट ५ जना आएका छन् ।

तथ्यांक अनुसार अहिलेसम्म कतारबाट १० हजार ३०६, कुवेतबाट ८ हजार ३३५, मलेसियाबाट ११ हजार ३५२, साउदी अरेबीयाबाट ११ हजार ८१९, दक्षिण कोरियाबाट १ हजार ४४७, बहराइनबाट १ हजार २७४, ओमनबाट १ हजार १५०, अष्ट्रेलीयाबाट १ हजार ९१ र टर्कीबाट ९३६ जना घर आएका छन् ।

स्वदेश फर्कनेमा प्रदेश नं १ का १४ हजार ५४६, प्रदेश नं २ का ११ हजार ९०९, वाग्मती प्रदेशका १८ हजार २४७, गण्डकी प्रदेशका ८ हजार ९७३, प्रदेश नं ५ का ११ हजार ४५०, कर्णाली प्रदेशका १ हजार ५१८ र सुदूरपश्चिम प्रदेशका १ हजार ७३७ रहेको केन्द्रले उल्लेख गरेको छ । ८हजार ४९७ जनाको भने प्रदेश विवरण खुलेको छैन ।