समाचार

आजबाट मौसममा सुधार, कुन क्षेत्रमा कस्तो रहला मौसम ?

काठमाडौं । आइतबारबाट काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानको मौसममा व्यापक सुधार हुने भएको छ । आज बिहानैदेखि घाम लागेको छ । प्रदेश १ र २ का केही स्थानमा बाहेक धेरैजसो स्थानमा आज घाम लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र २ मा न्यून चापीय क्षेत्रको प्रभाव अझै रहेकाले मौसम बदली भएको छ । त्यस क्षेत्रमा हल्का वर्षाको समेत सम्भावना छ । यसबाहेक देशका धेरैजसो स्थानमा आज मौसम सफा रहनेछ ।

महाशाखाका अनुसार पश्चिम नेपालबाट क्रमशः मौसम अनुकुल हुँदै आउनेछ । आज बागमती प्रदेशदेखि पश्चिममा सामान्य मौसम बदली हुन सक्ने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थान तथा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भने रहेको छ ।

आज राति प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।