समाचार

इयूकी नवनियुक्त राजदूत नेपालमा, राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश

काठमाडौं । नेपालका लागि युरोपियन युनियन (ईयू)की नवनियुक्त राजदूत तथा नेपालका लागि युरोपियन युनियनको डेलिगेशनका प्रमुख नोना डेप्रेले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेकी छिन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार भएको कार्यक्रममा नेपालका लागि युरोपियन युनियनकी नवनियुक्त राजदूत डेप्रेले ओहदाको प्रमाणपत्र पेस गरेकी हुन् । उनले नेपालमा युरोपियन युनियनको राजदूतका रुपमा जिम्मेवारी सम्हाल्न पाउँदा आफू खुशी भएको प्रतिक्रिया दिएकी छिन् ।

आफु नेपाललाई हेर्न–बुझ्न, नेपाली जनतालाई भेट्न र नेपाली संस्थाहरु एवं नागरिक समाज, निजी क्षेत्र, मिडिया, अन्तर्राष्ट्रिय साझेदार र सम्बद्ध सबै राजनीतिक, सामाजिक र आर्थिक सरोकारवालाहरुसँग मिलेर काम गर्न उत्साहित रहेको उनले बताएकी छिन् ।

पाँच दशकदेखि युरोपियन युनियन नेपालको एउटा भरपर्दो विकास साझेदार र मुख्य दाताका रुपमा रहेको उनको भनाई छ ।