फिचर

खडेरीको मारमा कृषक, मध्य असारमा पनि रोपाईंको चटारो छैन

काठमाडौं । आइतबार नेपालमा धान दिवस मनाइदैछ । सरकारले हरेक वर्ष १५ असारलाई धान दिवस घोषणा गरेअनुसार यस दिन विविध कार्यक्रम आयोजना गरिन्छन् ।

मध्य असारमा रोपाईमा व्यस्त हुने नेपाली कृषक यस सिजनमा भने खडेरीको मारमा परेका छन् । नेपालका अधिकांश स्थानमा वर्षातको पानी राम्रोसँग नपर्दा रोपाई नै हन नसकेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जानकारी दिएको छ ।

१५ असारमा धान दिवसको अवसर पारी यस पटक बर्दियामा विशेष कार्यक्रम आयोजना हुदैछ । धानखेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण भन्ने नारासहित यस पटकको धान दिवस मनाउन लागिएको मन्त्रालयको भनाई छ ।

मन्त्रालयका अनुसार नेपालमा धान रोपाई हुने करीव ६३ प्रतिशत जमिनमा सिञ्चाई सुविधा पुगेको छैन । सिञ्चाई सुविधा पुगेको जमिनमा पनि पहाडी भगमा खहरे खोलाको कुलो लाग्ने गर्छ ।

मनसुन पर्याप्त नहुँदा अहिले मुल पलाएका छैनन् । मुल नपलाउँदा खहरे खोलामा समेत पानीको वहाव बढ्न सकेको छैन । यसबाट कृषक प्रत्यक्ष प्रभावित भइरहेका छन् ।
नेपालमा करीव १५ लाख ५२ हजार ४ सय ६९ हेक्टर जमिनमा रोपाई हुने तथ्यांक छ ।

नेपालमा धान उत्पादनले कूल गार्हस्थ उत्पादन मै प्रभाव पार्छ । किनकी जीडीपीको कृषितर्फको हिस्सामा धानको मात्र हिस्सा ११ प्रतिशत रहेको छ । सरकारले आर्थिक वृद्धिको लेखाजोखा गर्दा पनि धानको उत्पादनलाई प्रमुख सूचकांक मान्ने गर्छ ।

नेपाल भित्रै ठूलो परिणाममा धान उत्पादन भए पनि त्यसको उचित व्यवस्थापन हुन नसक्दा नेपालले ठूलो मूल्य तिरेर चामल आयात गरिरहेको छ ।