फिचर

एक महिनामै बैंकिङ मार्फत १८ अर्ब ३९ करोडको कारोबार

काठमाडौं । विद्युतीय भुक्तानी कारोबारको संख्या उल्लेख्य वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार रकम र संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ ।

कोरोना संक्रमणको त्रास बढेसँगै सरकारले लकडाउन र निषेधाज्ञा पछि फिजिकल भन्दा डिजिटल बैंकिङ कारोबार बढेको हो ।

चालु आर्थिक बर्षको पहिलो महिना अर्थात् साउन महिनामा मात्र मोबाइल बैंकिङ मार्फत १८ अर्ब ३९ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

तथ्याङ अनुसार साउनमा मोबाइल बैंकिङबाट ५९ लाख २३ हजार ४११ पटक कारोबार भएको थियो ।

यस्तै, असार महिनामा मोवाइल बैंकिङबाट ५८ लाख १७ हजार ६८१ पटक कारोबार हुँदा १८ अर्ब ८३ करोड ९० लाख बराबरको भुक्तानी भएको देखिन्छ ।

राष्ट्र बैंकका अनुसार साउन महिनामा एटिएमबाटमात्रै ४७ लाख ६९ हजार ३ सय ४० वटा कारोबार भएका छन् ।

जसबाट ३८ अर्ब ३९ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ । यस अवधिमा डेबिट कार्डबाट पनि राम्रै कारोबार भएको छ ।

साउन महिनामा मात्रै डेबिट कार्डबाट ५४ लाख २६ हजार ३ सय ६८ वटा कारोबार मार्फत ४१ अर्ब ७८ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो महिना असारमा भने डेबिट कार्डबाट ३३ लाख १६ हजार ५ सय ५४ कारोबारमार्फत २५ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको थियो ।

बिशेषगरि कोरोना भाइरसको त्रास बढ्दै गएपछि नेपालमा पछिल्लो समय विद्युतीय माध्यमबाट हुने भुक्तानीको मात्रा बढ्दै गएको छ ।

मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट, आरटीजीएस मार्फत हुने कारोबार बढ्दै गएको राष्ट्र बैंकको भनाइ छ ।

विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासको कारण विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकले बताएको छ ।

साउन महिनामा इन्टरनेट बैंकिङ मार्फत ३ अर्ब बराबरको कारोबार भएको छ ।

यस्तै, सबैभन्दा बढी आरटीजीएस मार्फत भएको तथ्यांकमा देखिन्छ । आरटीजीएस मार्फत ८७ खर्ब १५ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै, कनेक्ट आईपीएसबाट ४७ अर्ब ३६ करोड बराबरको भुक्तानी भएको छ । यसैगरि इ कर्मसबाट १ अर्ब २० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।