समाचार

मिडियाप्रति प्रधानमन्त्रीको आक्रोस, 'जति गाली गरे पनि सहनुपर्ने ?'

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः एक पटक संचारमाध्यमविरुद्ध आक्रोस पोखेका छन् । मिडियाले हरेक दिन सरकारलाई गाली गर्दा सरकारले सहनु पर्ने तर, एक दिन सरकारले सुझाव दिन खोज्दा बुरुक्क उफ्रने गरेको भन्दै मिडियाप्रति आक्रोसित भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ सञ्चार माध्यमका सम्पादकहरूसँगको भेटमा यस्तो गुनासो गरेका हुन् । सञ्चार माध्यमले सरकारलाई दिनहुँ गाली गर्दा सहनुपर्ने, तर आफूले सुझाव दिँदा सहन्न भन्ने प्रवृति देखिएको उनको भनाई छ ।

हालै गठन भएको मिडिया एलायन्सका पदाधिकारी प्रधानमन्त्रीलाई भेट्न साँझ उनको सरकारी निवास वालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओलीले सञ्चार जगतले अरुलाई जे भनेपनि छुट पाइने तर यसो छोयो भने बुरुक्क उफ्रिहाल्ने, करेन्ट लागेजस्तो गर्ने भन्दै उनले मिडियाको ब्यंग्य समेत गरेका छन् ।

केही पहिले सम्पादकहरूसँग भएको भेट स्मरण गर्दै उनले तपाईहरूले दिनरात गाली गर्दा सहनुपर्छ भनेर सिकाउने । मैले अलिकति भन्दा सहन नसक्ने के हो यो ? भन्दै प्रश्न गरेका थिए ।