फिचर

अमेरिकामा कम्युनिष्ट पार्टीका सदस्यलाई कुनै प्रतिबन्ध छैन : दूतावास

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबार एक ट्वीट गर्दै कम्युनिस्ट पार्टीका सदस्यलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने गरी ल्याइएको हालैको अमेरिकी नीतिले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाएको उल्लेख गरे ।

उनको यो ट्वीट गत शुक्रबार अमेरिकाको यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस)ले जारी गरेको घोषणामा आधारित थियो । सोही घोषणलाई आधार मान्दै अन्तराष्ट्रिय समाचार सस्थाहरुले समाचार बनाएका छन् । जसमा भनिएको छ, ‘कुनै पनि कम्युनिष्ट पार्टी वा आतंकवादी समुहमा संलग्न रहेको सदस्यले अमेरिकाको नागरिकता वा स्थायी आवासीय अनुमति पाउँदैन ।’

यसैलाई आधार बनाएर अन्तर्राष्ट्रिय स्तरमा समाचार बनेको हो । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ताबाट स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाइएको भन्दै ट्वीट आएपछि नेपालस्थित दूतावासले भने स्पष्टिकरण सार्वजनिक गरेको छ ।

उसले भनेको छ, ‘कम्युनिष्ट पार्टीका सदस्यका सम्बन्धमा दशकौं देखिको नीतिमा अमेरिकी सरकारले कुनै परिवर्तन गरेको छैन ।’

काठमाडौंस्थित अमेरिकी दूतावासले मंगलबार एक विज्ञप्ती जारी गर्दै नेपाल कम्युनिष्ट पार्टीका सदस्यलाई अमेरिका बसाइसराइमा कुनै प्रतिबन्ध नलगाएको र कुनै पनि भिसाको विषय व्यक्तिगत विषय भएको स्पष्ट पारेको हो ।

हालै आएको नीतिले नेपालसम्बन्धी नीतिमा कुनै परिवर्तन नहुने भन्दै निश्चिन्त हुन समेत अमेरिकाले आग्रह गरेको छ । भिसासम्बन्धी आएका केही समाचार गलत अर्थ लाग्ने भएको समेत अमेरिकाको भनाई छ ।