मनोरञ्जन

आइफा अर्वाडमा रकमको विवाद, पर्यटन बोर्ड भन्छ, ऐतिहासिक अवसर

काठमाडौं । नेपालमा आयोजनाको तयारी भइरहेको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) सम्झौता नहुँदै विवादमा तानिएको छ ।

खासगरी अवार्ड आयोजकले नेपालमा अवार्ड कार्यक्रम आयोजना गर्न नगद रकम मागेको र त्यसमा नेपाल सरकार पनि सहमत भएको खबर बाहिरिएसँगै विवाद शुरु भएको छ ।

आयोजकले नेपालसँग प्रारम्भिक छलफलममै ५० लाख डलर माग गरेको थियो । पछिल्लो समय छलफलबाट ४० लाख डलरसम्म नेपालले दिन सक्ने गरी सहमति भएको छ ।

तर, औपचारिक सम्झौता हुन भने बाँकि रहेको छ । यसैबीच, नेपाल पर्यटन बोर्डले नेपाली पर्यटनको प्रवद्र्धनका लागि यो अवार्ड ऐतिहासिक रहेको बताएको छ ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै बोर्डका सीइओ दिपकराज जोशीले एकसाथ बलिउडका सयौं कलाकार नेपालमा उतारेर यति भब्य कार्यक्रम आयोजना गर्न पाउनु नेपालका लागि ठूलो अवसर भएको बताए ।

खर्चको विषय भने अझै नटुंगिएको भन्दै उनले सकेसम्म कम खर्चमा उत्कृष्ट कार्यक्रम आयोजना गरेर देखाउने दावि समेत गरे ।

विजक्र्याफ्ट इन्टनरनेसनल इन्टरटेनमेन्टले सन् २००० बाट यो अवाडस् आयोजना गर्न थालेको हो । यो भारतबाहिर हुने सम्भवतः सबैभन्दा ठूलो अवार्ड कार्यक्रम हो ।

अघिल्लो १९ औं संस्करण गत वर्ष थाइल्यान्डमा २२ देखि २४ जूनसम्म भएको थियो । दक्षिण एसियामा आइफा अवार्ड आयोजना गर्ने नेपाल दोस्रो देश हुनेछ ।

श्रीलंकामा सन् २०१० मा कार्यक्रम भएको थियो । यो अवार्ड अमेरिका, बेलायत, दक्षिण अफ्रिका, सिंगापुर, मलेसिया, स्पेन, नेदरल्याण्डजस्ता देशहरुमा भइसकेको छ ।

यो अवार्डले देश र आयोजना भएको शहरको ब्राण्ड स्थापित गराउन ठूलो सहयोग पुग्ने बोर्डका सीइओ जोशीको दावि छ ।