समाचार

नेकपा संसदीय दलको बैठक सोमबारबाट शुरु, सांसदका अनेकौं गुनासा

काठमाडौं । नेकपा संसदीय दलको बैठक सोमबारबाट राजधानीमा शुरु भएको छ । सोमबार अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)सहित २९ जना सांसदले आफ्नो भनाई राखे ।

बैठकमा नेकपा सांसदले एकता प्रक्रिया छिटो टुंग्याउन नेतृत्वको ध्यानाकर्षण गराएका छन् । एकता नटुंगिएसम्म तल्लो तहसम्म अलमल हुने र त्यसले कार्यक्रता बेरोजगार भएर बस्नु पर्ने अवस्था सिर्जना भएको नेकपा सांसदहरुले बताएका छन् ।

सांसदहरुले पाटी र सरकारका कामबारे सांसदहरु नै बेखबर हुने परिपाटी रहेको भन्दै गुनासो समेत गरेका थिए ।

प्रधानमन्त्री ओलीले सरकारका कामको बचाउ गर्न पार्टीका सांसदहरुलाई आग्रह गरेसँगै सांसदहरुको उक्त प्रतिक्रिया आएको हो ।

सोमबारको बैठकमा सांसद भीम रावलले सरकार र पार्टीलाई लिखित सुझाव पेश गरे । सोमबार रावल, जनार्दन शर्मालगायत सांसदले आफ्नो धारणा राखेका थिए ।

उक्त अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एकता प्रक्रिया छिटो टुंगिनेमा आश्वस्त हुन आग्रह गरे । नेकपा संसदीय दलको अर्को बैठक २१ असारमा बस्ने भएको छ ।