समाचार

त्रिवि सेवा आयोगका पदाधिकारीको कतुर्त : जनताका छोराछोरीलाई फेल गराएर आफन्त पास

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष सहितका पदाधिकारी नम्बर थप गरेर विद्यार्थी उत्तीर्ण गराउने काममा संलग्न रहेको पुष्टी भएको छ ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले बुधबार शिक्षा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य प्रसाद शर्मा, सदस्य चिन्तामणी पोखरेल, प्रशासन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, कर्मचारी ईन्दिरा तिवारीविरुद्ध मुद्दा हालेको छ ।

साथै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सह-प्राध्यापक राजेश्वर न्यौपाने, सह-प्राध्यापक तारा प्रकाश पौडेल र राम बहादुर पाण्डे क्षेत्रीविरुद्ध पनि मुद्दा दायर भएको छ ।

त्रिवि सेवा आयोगले विभिन्न पदमा मागेको विज्ञापनमा विद्यार्थी उत्र्तीण गराउने क्रममा आफन्तहरुलाई पास गराउन आयोगका पदाधिकारीकै संलग्नतामा नम्बर थप गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो ।

आयोगले प्राविधिक र प्रशासनका विभिन्न १६ पदका लागि कर्मचारी भर्ना खुलाएको थियो ।

ति पदमध्ये शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानुनी सल्लाहकार, मुख्य लेखा सहायक, मुख्य कार्यालय सहायक र कार्यालय सहायक पदमा लिखित परीक्षाका ३५ थान उत्तरपुस्तिकाको नम्बर थपघट भएको अख्तियारद्धारा बुधबार जारी विज्ञप्तीमा उल्लेख छ ।

यसरी उत्तीर्ण गराइएका व्यक्ति आयोग अध्यक्ष शर्माका आफन्त, प्रशासन प्रमुख परशुराम कोइरालाकी छोरीदेखि कर्मचारी तथा नेताका श्रीमती, बहिनी, सालीलगायत थिए ।

उनीहरुको यस हर्कतबाट नेपालमा नीतिगत अनियमितताको डरलाग्दो पाटो समेत खुलासा भएको हो ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार २४ शाखा अधिकृतका लागि भएको परीक्षामा सहभागीमध्ये ६ जनाको उत्तर पुस्तिकामा शंकास्पद तरिकाबाट केरमेट गरी अङ्क थपघट गरिएको थियो ।

त्दुई जनालाई क्रमशः ३३ र ४ अंक थप गरेर पास गराएको रदुई जनालाई क्रमशः १४ र ६ अंक थपेर मेरिट लिस्टमा ल्याइएको छ ।

पास हुनुपर्ने एक परीक्षार्थीको भने नाम छुटाएर तथा अर्काको १४ अंक घटाएर अनुतीर्ण गराएको भेटिएको हो ।

२४ लेखा अधिकृतका लागि भएको परीक्षामा ७ उत्तरपुस्तिककामा केरमेट भटिएको छ । जसमध्ये ५ जनाको उत्तर पुस्तिकामा क्रमशः ९, १०, ३, ७, २ अंक थपेर मेरिट लिस्टमा पारिएको छ भने अर्को परीक्षार्थीको ९ अङ्क घटाई मेरिटमा तल पारिएको छ ।

एक परीक्षार्थीको उत्तर पुस्तिकामा भने ३ अंक थप गरेको पाइएको छ । सहायक कानुनी सल्लाहकारको परीक्षामा भने ३ जनाको उत्तर पुस्तिकामा केरमेट गरेर अङ्क थपघट गरी परीक्षाको परिणाम फेरबदल गरिएको अख्तियारले उल्लेख गरेको छ ।

पाँचौं नम्बरमा रहेकालाई १५ अङ्क थपेर मेरिट लिस्टको पहिलो नम्बरमा ल्याइएको छ भने पहिले नम्बरमा परेकाको ८ अंक घटाएर दोस्रोमा झारेर बदमासी गरेको अख्तियारको विज्ञप्तीमा उल्लेख छ ।

अर्का एक परीक्षार्थीको उत्तरपुस्तिकामा भने २ अंक घटाएर मेरिट लिस्टको चौथो नम्बरमा झारिएको छ ।

२४ जना मुख्य लेखा सहायक पदका लागि लिइएक लिखित परीक्षामा सहभागी मध्ये दुई जनाको उत्तर पुस्तिकामा नम्बर थप गरेको तथा ५ जनाको उत्तरपुस्तिकामा ६ देखि १५ अङ्क सम्म थपघट गरिएको छ ।

तीन परीक्षार्थीको उत्तरपुस्तिकामा क्रमशः २८ १३, र १० अंक थप गरिएको छ । तीन परीक्षार्थीको उत्तरपुस्तिकामा क्रमशः ६, १४ र १४ अंक घटाएर फेल गराइएको छ ।

१२ मुख्य कार्यालय सहायकका लागि लिएको परीक्षामा ९ जनाको उत्तर पुस्तिकामा अंक थपिएको छ । फेल भएका एक परीक्षार्थीले पाएको अंकमा ५ पटकसम्म केरमेट गरी उत्तिर्ण गराएको भेटिएको अख्तियारले उल्लेख गरेको छ ।

एक परीक्षार्थीले पाएको अंकमा भने १० घटाएर मेरिटमा नपारेको पाइएको छ । यस्तै १४ कार्यालय सहायकका लागि लिएको परीक्षामा भने खुलामा नआएका दुई जनालाई अंक थपेर मेरिटमा पारेको पाइएको छ ।

यसरी अंक थपघट गर्ने क्रममा अधिकांश उत्तरपुस्तिकामा शुरुमा दिएको अङ्क नबुझिने गरी केरिएको, परीक्षकको दस्तखत नभएको, उत्तरपुस्तिकाको भित्र दिएको अङ्क र बाहिर उतारिएको अङ्क फरक परेको, अङ्क फेरबदल भएकोमा सबै ठाउँमा अक्षरमा नलेखिएको जस्ता त्रुटि भेटिएको अख्तियारले उल्लेख गरेको छ ।