मनोरञ्जन

नेपालमा नहुने भयो आइफा अवार्ड

काठमाडौं । तीब्र आलोचना र संसदीय समितिको निर्देशनसँगै अब नेपालमा आइफा अवार्ड नहुने भएको छ ।

पर्यटन बोर्ड स्रोतका अनुसार यो अवार्ड अगाडी बढाउने पक्षमा सरकार छैन । तयारी बिनै बाहिर नकारात्मक हल्ला भएका कारण थप आलोचना हुने डरले सरकार आफ्नो निर्णयबाट पछि हट्ने निष्कर्षमा पुगेको हो ।

संसदको अन्तरराष्टिय सम्बन्ध समितिले मंगलबार आइफा अवार्ड नेपालमा आयोजना गर्ने सम्बन्धी सबै प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।

एकातर्फ ठूलो धनराशी आयोजकलाई बुझाउनु पर्ने, आयोजनाको सबै रकम नेपालले बेहोर्नु पर्ने र २० दिनसम्म भेन्यू भारतीय आयोजकलाई उपलब्ध गराउनु पर्ने प्रावधान भारतीय पक्षबाट आएको खुलासा भएसँगै त्यसको तिब्र आलोचना भएको थियो ।

चर्चित अवार्ड नेपालमा आयोजना गर्दा त्यसले विश्वभर नेपालको प्रचार हुने र त्यसबाट नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने सरकारको तर्क थियो । ८ असारको मन्त्रिपरिषद् बैठकले आइफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो ।