खेलकुद

महिला विश्वकपको उपाधिका लागि अमेरिका नेदरल्याण्डसँग भिड्ने, ट्रम्पसँग अमेरिकी उपकप्तानको नोकझोंक

न्यूयोर्क
फ्रान्समा जारी महिला विश्वकप फुटबलको उपाधिका लागि साविक विजेता अमेरिकाले नेदरल्याण्डसँग प्रतिश्पर्धा गर्ने भएको छ । अमेरिका बेलायत र नेदरल्याण्ड स्विडेनलाई हराउँदै फाइनल प्रवेश गरेका हुन् ।

बुधबार भएको दोस्रो सेमिफाइनलको अतिरिक्त समयमा नेदरल्याण्डले स्विडेनलाई १–० गोल अन्तरले पराजित गर्यो । मंगलबार अमेरिकाले बेलायतलाई २–१ गोल अन्तरमा पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

अमेरिका यसपाली लगातार तेस्रो फाइनल खेल्न लागेको हो । सन् २०११ मा जापानसँग फाइनलमा पराजित अमेरिकाले २०१५ मा बदला लिएको थियो । लगातार दुई फाइनल खेलेको जापान भने यसपाली अन्तिम १६ बाटै बाहिरिएको छ ।

उपाधिका प्रमुख दावेदार मानिएका आयोजक फ्रान्स र बेलायतलाई हराउँदै अमेरिकाले फाइलनको यात्रा तय गरेको छ । यस्तै नेदरल्याण्डले पनि अघिल्लो प्रतियोगिताको उप विजेता जापानलाई अन्तिम १६ बाट घर फर्काएको थियो । फाइनल खेल्ने दुबै टोलीले समूह चरणका तीनवटै खेल जित्दै ९ अंक सहित अन्तिम १६ मा प्रवेश गरेका थिए । उपाधिका लागि आइतबार अमेरिका र नेदरल्याण्डको प्रतिश्पर्धा हुनेछ । त्यस अघि शनिबार बेलायत र स्विडेनबीच तेस्रो स्थानका लागि प्रतिश्पर्धा हुनेछ ।

सन् १९९१ मा सुरु भएको महिला विश्वकपका सात संस्करणमध्ये अमेरिकाले सर्वाधिक तीन पटक उपाधि जितेको छ । प्रतियोगिता सुरु भएको बर्षका अलावा १९९९ र २०१५ मा अमेरिकाले उपाधि भित्र्याएको हो । अमेरिका बाहेक जर्मनीले दुई एवं जापान र नर्वेले १÷१ पटक उपाधि जितेका छन् ।

यसपाली विश्वकपमा सहभागि अमेरिकी टोलीको प्रतिश्पर्धा राजनीतिक कारणले पनि रोचक भएको छ । अमेरिकी टोलीकी उपकप्तान मेगन र्यापिनोले ‘उपाधि जितेमा खुसी मनाउन ह्वाइट हाउस जाने हो ?’ भनेर पत्रकारले सोधेको प्रश्नमा ‘राष्ट्रपति डोनाल्ड ट्रम्पले निम्त्याउने संभावना नै आफुले नदेखेको र बोलाइ हाले पनि नजाने’ जवाफ दिएकी थिइन् । उनको भनाइ लगत्तै ट्रम्पले ‘बोलाउने नबोलाउने आफ्नो निर्णय हुने र त्यस अघि जितेर देखाउन’ अमेरिकी टोलीलाई ट्विट मार्फत चेतावनी दिएका थिए । साथै उनले ह्वाइट हाउसको अपमान गरेको भन्दै मेगनको आलोचना समेत गरेका थिए ।

ट्रम्पको प्रतिकृया पछि मेगनले आफु आफ्नो पुरानो भनाइमा अडिग रहेको र आफ्ना साथीहरुलाई पनि निम्तो आइहाले ह्वाइट हाउस नजान सुझाव दिने बताएकी थिइन् । ‘हामी जुन चेतना र मूल्य मान्यता साथ हुर्किँदै आयौँ त्यो अहिलेको प्रशासनसँग मेल खाँदैन त्यसैले म ह्वाइट हाउस जान्न’ उनले भनेकी छिन् । ट्रम्प र मेगनको नोकझोंक पछि अमेरिकी टोलीको खेलप्रतिको चासो ह्वात्तै बढेको छ । ट्रम्पको प्रतिकृया पछि अमेरिकाले क्वार्टर फाइनल र सेमीफाइनलका कठिन खेल जितेको थियो । आयोजक फ्रान्ससँगको क्वार्टर फाइनलमा मेगनले नै दुबै गोल गरेकी थिइन् ।

ट्रम्पको ट्विट पछि धेरै अमेरिकीले मेगनप्रति समर्थन देखाएका छन् भने ट्रम्प समर्थकले मेगनलाई मुलुकको अपमान गरेकोसम्म आरोप लगाएका छन् । जवाफमा मेगनले आफु हृदय देखिनै अमेरिकी रहेको र ट्रम्पसँग बिचार मिल्दा मात्र अमेरिकी नहुने बताएकी छिन् ।