समाचार

विप्लवविरुद्ध आक्रामक सरकार, प्रवक्ता भन्छन्, "वार्तामा नआए सिद्धिन्छ"

काठमाडौं । सरकारले शान्तिपूर्ण प्रक्रियामा नआए विप्लव समूहको अस्तित्व नरहने चेतावनी दिएको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विप्लव समूह राजनीतिक नभएर संगठित आतंककारी समूह भएको भन्दै शान्तीपूर्ण राजनीतिमा आउन आग्रह गरे ।

बिहीबार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले सरकार विप्लव समूहविरुद्ध कडा रणनीति रहेको संकेत गरेका हुन ।

विप्लव समूह मार्क्सवादी नरहेको र उनीहरु कुनै पनि वाद, विचार र दर्शनबाट पनि सञ्चालना नरहेको उनले बताए ।

उक्त समूहलाई अराजकतावादी, धनकमाउवाला र उपयोगभावी समूहको संज्ञासमेत उनले दिए । मिहेनत गरेर नभई लुटेर खाने प्रवृत्तिका कारण समूह संगठित आतंकवादतिर अघि बढेको उनको भनाई थियो ।

सरकारले विप्लवसँग वार्ताको प्रयास गरेको भए पनि समूह वार्ताका लागि इच्छुक नदेखिएको उनले उल्लेख गरे ।

कानून विपरितका काम गर्नेलाई नियन्त्रणमा लिई त्यस्ता गतिविधि निस्तेज पार्ने दायित्व सरकारको हुने भन्दै उनले कसैविरुद्ध पनि सरकारले बल प्रयोग नगरेको बताए ।

नेपाली जनताले आपैले लडेर ल्याएको परिवर्तनलाई आत्मसाथ गरी शान्तिपूर्ण बाटोमा आउने उनले समूहलाई आग्रह गरे । उक्त समूहले अहिले लिएको मार्गले अन्ततः सत्यनास निम्याउने उनको भनाई थियो ।

पछिल्लो समय यस समूहविरुद्ध सरकारले धरपकड बढाएको छ । विभिन्न स्थानमा प्रहरी कारवाहीमा विप्लवका कार्यक्रतामाथि गोली समेत चलेको छ ।

कार्यक्रममा मन्त्री बास्कोटाले आइफा अवार्ड रोक्न निर्देशन दिने संसदीय समिति प्रति व्यंग्य गरे ।

विषयवस्तुको गाम्भीरता नबुझी हचुवाको भरमा निर्णय गरेको संकेत गर्दै उनले संसदीय समितिले आइफामा थेसिस गरेको होला भन्दै ठट्टा गरे ।