अर्थतन्त्र

अरुले कमाएको देखेर हौसिदा डुबिएला

निरञ्जन फुयाल

लगानीका सन्दर्भमा हामीले सुन्दै आएको कथन ‘जति धेरै जोखिम, त्यति नै धेरै प्रतिफल’ (हायर द रिस्क, हायर द गेन) । के साँच्चै मानिस उच्च प्रतिफलका लागि जोखिम लिन तयार रहन्छ ? वित्तशास्त्रले जोखिम र प्रतिफल गणना गर्ने विभिन्न सहज विधि दिएको छ । कति जोखिममा कति प्रतिफल प्राप्त गर्नुपर्ने हो भनेर पनि गणना गर्न सकिन्छ । तर, व्यावहारिक रुपमा लगानी निर्णय गर्ने अवस्थामा अधिकांश लगानीकर्ताले न जोखिम गणना गर्छन् न प्रतिफल नै । नम्बरमा गणना नगरे पनि जोखिम र प्रतिफलको छुट्टाछुट्टै अनुमान भने गरेका हुन्छन् । अनि के पनि सत्य हो भने प्राकृतिक व्यक्तिले आफूले दुःख गरेर कमाएको रकम लगानी गर्दा जोखिम लिन नै चाहँदैनन् । लगानीपश्चात् प्राप्त हुने प्रतिफलका आधारमा एउटा सानो उदाहरण हेरौं ।
विकल्प १, पचास प्रतिशत सम्भावना दुई हजार रुपैयाँ प्रतिफल प्राप्त हुने र पचास प्रतिशत सम्भावना कुनै प्रतिफल प्राप्त नहुने ।
विकल्प २, शतप्रतिशत सम्भावना पाँच सय रुपैयाँ प्रतिफल प्राप्त हुने ।
प्रस्तुत दुई विकल्पमध्ये अधिकांश लगानीकर्ताको रोजाइ विकल्प दोस्रो हुने गरेको छ । व्यावहारिक रुपमा व्यक्तिले आफूसँग भएको बचत लगानी गर्दा सकेसम्म जोखिम लिन चाहँदैनन् । वित्तशास्त्रको सिद्धान्तअनुसार विकल्प १ उत्तम हो । तर, व्यवहारमा त्यो लागू हुँदैन । विकल्प १ को प्रतिफल प्राप्त हुने प्रतिशत बढाउँदा पनि अधिकांश लगानीकर्ताको रोजाइ विकल्प २ नै कायम रहने गरेको अध्ययनहरुले देखाएको छ । मानिसले जोखिम नै लिन चाहँदैनन् भने लगानीमा जोखिम भई किन लगानी डुब्ने गर्दछ त ? यसको पनि एक वास्तविक उदाहरण हेरौं ।
करिब बीस वर्ष पहिले एक सार्वजनिक समारोहमा बेलायतकी महारानी एलिजावेथले नेपालमा बनेको पस्मिना सल लगाएको चर्चा भयो । यो चर्चासँगै युरोपियन बजारमा नेपाली पस्मिना सलको माग बढ्यो । यसले गर्दा काठमाडौंमा पस्मिना सलको व्यापार गर्ने र उत्पादकको आम्दानी बढ्न गयो । वरपरका छिमेकी साथीभाइले पस्मिना व्यापारबाट राम्रो कमाइ गरेको देखेपछि अन्य धेरै व्यक्तिहरुले यो पेशामा लगानी गर्न थाले । घर घरमा हाते तान राखी पस्मिना सल उत्पादन गर्न थालियो ।
बजारमा माग निरन्तर रहन्छ, रहँदैन ? लागतअनुसार लाभ प्राप्त गर्न सकिन्छ, सकिँदैन ? यो व्यवसायमा के कस्ता जोखिम रहेका छन् ? लगानी गर्नुभन्दा अगाडि लगानीकर्ताले अध्ययन गर्नुपर्ने अत्यन्त साधारण एवम् आवश्यक विषयमा समेत सोच–विचार नगरी धेरै मानिसहरु अरुले प्राप्त गरेको प्रतिफल देखेर मात्र लगानी गर्न हौसिए । कतिसम्म गरे भने यस्तो व्यवसायको कुनै ज्ञान नभएको, समय दिन नसक्ने व्यक्तिहरुले पनि लहलहैमा लगानी गरे । यसले गर्दा उत्पादनको मात्रा बढ्यो । मूल्य र गुणस्तर घट्यो । केही महिनापछि नै पस्मिना सलको विदेश निकासी तीव्र रुपमा घट्न गयो । तयार गरिएका महँगा पस्मिना सल सस्तो मूल्यमा बेच्नु र केही समयपछि उत्पादन बन्द गर्नुको विकल्प रहेन । यो व्यवसायमा पछि छिरेका अधिकांश लगानीकर्ताले घाटा व्यहोर्नुप¥यो ।
नेपालमा मात्र होइन प्रायः सबै देशका लगानीकर्ताहरु लगानीसम्बन्धी निर्णय गर्दा जोखिम प्रतिफलको नम्बर गणना गर्नेभन्दा आफू वरिपरिका अरुले गरेको लगानीबाट प्राप्त प्रतिफललाई हेरेर लगानी निर्णय गर्ने गर्दछन् । शेयर बजारमा प्रवेश गर्ने प्रायः नयाँ लगानीकर्ताहरु अरुले सहजै कमाइ गरेको देखेर बजारमा प्रवेश गर्दछन् । शेयरबजारमा लगानी गर्दा आज पनि संसारमा धेरै मानिसहरु वारेन बफेट (अमेरिकी धनाढ्य) लगायतका सफल लगानीकर्ताले पछिल्लो समय के किने र के बेचे भनेर हेर्ने गर्दछन् ।
मानिस बत्तीसै लक्षणले युक्त हुन सक्दैन । केही पक्ष सबल र केही पक्ष दुर्बल हुन सक्छ । अझै मानिसले निर्णय गर्ने बेलामा ऊसँग उपलब्ध सूचना, जानकारी र त्यस्ता जानकारीलाई अध्ययन गर्न सक्ने क्षमता हुनुपर्छ । उसको वरिपरिको वातावरण, उसको मुड आदि विषयले मानिसको निर्णय क्षमतालाई असर गर्दछ । मानिसको दिमाग मेसिन होइन । यसले सोच्ने गर्दछ र समय र परिस्थितिअनुसार एउटै विषयमा पनि फरक निर्णय गर्न सक्दछ । कम्प्युटर वा क्यालकुलेटरमा जति पटक पनि २ह२ टाइप गरेमा यसले प्रत्येक पटक एउटै उत्तर दिन्छ– ४ । तर, एउटै मानिसलाई तीन चार पटक २ह२ कति हुन्छ भनेर सोध्नु भयो भने ऊ रिसाउँछ वा त्यसपछि उत्तर दिन छोड्छ । लगानी निर्णयमा पनि यस्ता कुराहरुले असर गर्दछ । शेयर बजारमा नयाँ प्राप्त सूचना वा जानकारीबाट लगानीकर्ताहरु साधारणतया आवश्यकभन्दा बढी प्रतिक्रिया जनाउने (ओभर रियाक्सन) हुन्छ । तथ्यभन्दा हल्लाका भरमा निर्णय गर्ने, देखासिकी गर्ने, नयाँ सूचना वा जानकारी प्राप्त हुनेबित्तिकै लगानी निर्णय गर्ने वा हालको लगानीमा पुनरावलोकन गर्ने, लगानी योजना तयार नगरी लहलहैमा लगानी गर्नेजस्ता मानिसका व्यावहारिक कमजोरीका कारण लगानीमा जोखिम उत्पन्न हुन्छ । यस्तो जोखिम लिंदैमा प्रतिफल उच्च हँुदैन ।
( लेखक नेप्सेका प्रबन्धक हुन् )