अर्थतन्त्र

विदेशमा बस्नेले नेपालमा यसरी लगानी गर्न सकिन्छ

निरञ्जन फुयाल
नेपालमा यही चैत १५ र १६ गते लगानी सम्मेलन भयो । सरकारले निकै महत्वसाथ सम्पन्न गरेको यस सम्मेलनको समापनको अवसरमा १५ ठूला परियोजनामा लगानीका लागि समझदारी भएको बताइएको छ । विदेशमा बस्ने नेपालीहरुको संस्थाबाट पनि करिब १० अर्ब रुपैयाँको लगानी गर्नका लागि सामूहिक लगानी कोष स्थापना गर्ने घोषणा गरियो । यसैको तयारीस्वरुप सरकारले केही दिन पहिले मात्र विदेशी लगानीसम्बन्धी ऐन जारी गरेको थियो । ठूलो विदेशी लगानी ल्याउनका लागि सामान्यतया देशभित्रको शान्ति सुरक्षा, सुशासनको अवस्थामा सुधार एवम् लगानी फिर्ताको सहज वातावरण हुनु जरुरी छ । त्यसैगरी साना अर्थतन्त्र तथा विकासशील देशहरुमा लगानी गर्ने ठूला विदेशी कम्पनीहरुले विभिन्न शर्त राख्ने गर्दछन् । तर, नेपालमा जन्मेर विदेशलाई कर्मभूमि बनाउने व्यक्तिहरुलाई लगानीका लागि सहजीकरण गर्ने हो भने व्यक्तिको सानो वा मध्यमस्तरको रकमबाट पनि धेरै पूँजी जुटाउन सकिन्छ । त्यसैले यहाँ प्रस्तुत आलेखमा विदेशबाट नेपालमा हुन सक्ने ठूलो लगानीभन्दा पनि विदेशमा बस्ने सीमित वा मध्यम आय भएका धेरै नेपालीबाट गर्न सक्ने लगानीका बारेमा उल्लेख गरेको छु ।
सबैलाई आफूले कमाएको पैसा केही मात्रै भए पनि जोहो गरी सुरक्षित भविष्यका लागि लगानी गर्ने इच्छा हुन्छ । अझै त्यस्तो लगानी सुरक्षित होस् र चाहेको बखत नगदमा परिवर्तन गर्न सकिने होस् भन्ने सोचाइ हुन्छ । प्रायः नेपालमा जन्मेर विदेशमा बसेका वा काम गर्ने नेपालीहरु केही समयपछि नेपालमा नै फर्कने सोचाइमा रहन्छन् । यसका लागि कतिपयले केही रकम नेपालमा लगानी गरेका हुन्छन् भने कतिले लगानी गर्ने अवसर खोजिरहेका हुन्छन् ।
केही समय पहिले क्यालिफोर्नियामा बस्ने मेरा एक मित्रले पनि यस्तै सोचाइले केही लगानी गर्न खोज्दै गर्नुभएको रहेछ । यता, नेपालमा हामी एउटै स्कूल पढ्ने साथीहरु मिलेर कम्पनी खोली केही काम गर्ने सोचाइ बनाइरहेका थियौं । यो कुरा क्यालिफोर्नियामा बस्ने साथीलाई बताउँदा उहाँले सजिलै उक्त कम्पनीमा केही लगानी गर्ने निर्णय ग¥यो । सामाजिक सञ्जालले नजिक्याएको दुनियाँमा नेपालमा नयाँ कम्पनी स्थापना गरी केही काम गर्न लागेको कुरा उक्त स्कूलका संसारभरि छरिएका साथीहरुले थाहा पायो । अमेरिका, युरोप र अस्ट्रेलियामा रहेका कतिपय स्कूलका अलमुनाईबाट लगानी रकम जुटी कम्पनी स्थापना भयो ।
हेर्दा सहज छ । विदेशमा कमाएको पैसा कुनै माध्यमबाट नेपालमा रहेका आफन्त तथा साथीभाइमार्फत लगानी गर्ने । जहाँसुकैको कमाइ होस्, सित्तैमा कसैले दिँदैन, दुःख गर्नै पर्छ । अझ कति रहर मारेर भविष्यका लागि जुटाएको रकम लगानी गर्दा सुरक्षित होस् भन्ने चाहना हुन्छ । तर, साथीभाइलाई रकम पठाएर लगानी गर्दा सुरक्षित होला ? साथीभाइ जतिसुकै विश्वासिला होउन्, नेपालको नियम, कानून र विद्यमान संयन्त्रले तपार्इंको लगानीबाट प्रतिफल प्राप्त गर्ने अवस्था रहला ?
यद्यपि, तपार्इं निश्चित रुपले नेपाल फर्कनु हुन्छ र नेपालमा तपार्इंको लगानीबाट आर्जन गरेको सम्पत्ति तपाईं र तपाईंको हकवालाले नेपालमा नै उपभोग गर्छन् भने विश्वासिलो साथीभाइमार्फत लगानी गर्दा फरक नपर्ला । तर, पछि तपाईं रिटायर्डपछि केही समय नेपाल र केही समय तपार्इंको कर्मभूमिमा बस्ने सोचाइमा हुनुहुन्छ र तपाईंका सन्तान विदेशमा नै रमाउने अवस्था छ वा तपाईंबाहेक परिवारले विदेशी नागरिकता लिइसक्नु भएको छ भने नेपालमा लगानी गर्नुभन्दा अघि निश्चित रुपमा विदेशी लगानीसम्बन्धी विद्यमान नियम कानून र प्रक्रिया जान्न जरुरी छ ।
सर्वप्रथम विदेशमा रहेका नेपाली सम्बन्धी कानुन ‘गैरआवासीय नेपालीसम्बन्धी ऐन, २०६४’का बारेमा चर्चा गरौं । यस ऐनमा ‘गैरआवासीय नेपाली’ भन्नाले नेपाली मूलको विदेशी नागरिक सम्झनुपर्छ र सो शब्दले विदेशमा बस्ने नेपाली नागरिकसमेतलाई जनाउँछ भनी व्याख्या गरिएको छ । त्यसैगरी ‘नेपाली मूलको विदेशी नागरिक’ भन्नाले कुनै व्यक्ति साविकमा स्वयम् वा निजको बाबु, आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य मुलुकबाहेक अन्य मुलुकको नागरिकता लिएको व्यक्ति सम्झनुपर्छ भनी उल्लेख छ । यस ऐनले गैरआवासीय नेपालीलाई परिचयपत्रको व्यवस्था गर्नुका साथै लगानी सहज बनाउन नेपालमा विदेशी मुद्राको खाता सञ्चालन गर्न पाउने अधिकार दिएको छ । नेपालमा लगानी गर्दा नेपाली नागरिकसरह गैरआवासीय नेपाली वा नेपाली मूलको विदेशी नागरिकले सुविधा पाउने व्यवस्था उक्त ऐनमा उल्लेख गरिएको छ । साथै तोकिएबमोजिम रकम फिर्ता लान सक्ने भनी उक्त ऐनको दफा ९ मा व्यवस्था गरिएको छ ।
लगानी सुरक्षित हुनका लागि आफूले गरेका लगानी तथा त्यसबाट आर्जित आय सहजै प्राप्त गर्न सक्नुपर्दछ । यसका लागि गैरआवासीय नेपालीसम्बन्धी ऐन २०६४ ले रकम फिर्ता लैजान तोकिएबमोजिम सक्ने भनिए तापनि सहजै नेपालमा गरिएको लगानी विदेशी मुद्रामा फिर्ता लान सक्ने अवस्था छैन । तोकिएबमोजिम लान सक्ने भनेको उद्योग विभागबाट स्वीकृति लिई नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्रामा लगानी बिक्री गरी प्राप्त रकम वा मुनाफा फिर्ता लान स्विकृति लिनुपर्दछ । सोभन्दा अघि पूँजीगत लाभ र नाफाको २५ प्रतिशत रकम करको रुपमा बुझाउनु पर्दछ । हाल कम्प्यूटरको क्लिकमा संसारको कुनै पनि कुनामा रकम पठाउन सक्ने अवस्थामा पनि विभिन्न निकायबाट स्विकृति लिई रकम फिर्ता गर्नु साना लगानीकर्ताहरुलाई झन्झटिलो हुन सक्छ ।
यो भन्दा पनि महत्वपूर्ण विषय भनेको तपाईंले साथीभाइका माध्यमबाट रकम पठाई वा बैंकिङ च्यानलबाट नै भए पनि साथीभाइका नाममा रकम पठाई लगानी गर्नुभएको छ भने नेपालको कानूनले त्यसलाई लगानी मान्दैन । जसरी लगानी वा नाफा रकम फिर्ता लान सम्बन्धित निकायको स्विकृति चाहिन्छ, त्यसैगरी विदेशी मुद्रामा नेपालमा लगानी गर्दा पनि सम्बन्धित निकायबाट लगानी गर्न स्विकृति लिनु पर्दछ । त्यसैले अरूको माध्यमबाट स्वीकृति नलिई गरिने लगानीबाट प्राप्त आय वा बिक्रीको रकम विदेशी मुद्रामा फिर्ता लान त्यति सहज भने छैन ।
सोही ऐनको दफा १२ (क) मा गैरआवासीय नेपालीले लगानी गर्दाको पूँजी रकममा कुनै कर लाग्ने छैन भन्ने व्यवस्था रहेको छ । यसको अर्थ लगानीबाट आर्जित रकममा कर नलाग्ने भन्ने होइन । यो केवल विदेशमा आर्जित रकम सम्बन्धित निकायको स्वीकृतिमा नेपालमा लगानी गर्दा उक्त रकमलाई ब्यक्तीको आय नमानी लगानी मानिने र त्यसमा आयकर नलाग्ने मात्र हो । त्यसैगरी दफा १२ (ख) मा गैरआवासीय नेपालीले निजको नजिकको नातेदार नेपाली नागरिकलाई निजी प्रयोगका लागि एक आर्थिक वर्षमा पन्ध्र लाख रुपैयाँमा नबढ्ने गरी नेपाल राष्ट्रबैङ्कबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्थामार्फत पठाएको रकममा त्यस्तो रकम प्राप्त गर्दाको बखत कुनै कर लाग्ने छैन भनी व्यवस्था गरेको छ । यसको अर्थ अरुलाई पठाएको रकममा वार्षिक १५ लाखसम्म आयकर तिर्नु पर्दैन । सो भन्दा माथि आयकर तिर्नुपर्दछ । यसरी ऐनले विदेशमा बस्ने नेपालीले अरुमार्फत गर्ने लगानीलाई निजी प्रयोगका लागि नेपालमा रकम पठाएको भनी बुझेको देखिन्छ ।
उक्त ऐनको विभिन्न दफाहरुमा नेपाली मूलका विदेशी नागरिक वा गैरआवासीय नेपालीहरुले नेपालमा लगानी गरेमा नेपालमा रहेका नेपालीसरह नै सुविधा प्राप्त हुने उल्लेख छ । तर, आयकर ऐनमा स्पष्टसँग नेपाली नागरिकलाई पूँजीगत लाभकर ७.५ प्रतिशत तोकिएको छ भने विदेशी कम्पनी, व्यक्ति वा गैरआवासीय नेपालीलाई समेत २५ प्रतिशत पूँजीगत लाभकर लाग्ने व्यवस्था गरेको छ । सबैभन्दा अनौठो विषय त गैरआवासीय नेपालीसम्बन्धी ऐन, २०६४ को दफा १७ को व्यवस्थाअनुसार १७ (क) मा उक्त ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशमा बस्ने नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता लिएमा निजले उक्त ऐनबमोजिम प्राप्त गरेको परिचयपत्र स्वतः रद्द हुने व्यवस्था छ भने १७ (ख) मा परिचय पत्र रद्द भएमा विदेशमा बस्ने नेपाली नागरिकले सो हैसियतमा उक्त ऐनबमोजिमको कुनै सुविधा तथा सहुलियत नपाउने व्यवस्था छ । यसरी गैरआवासीय नेपालीसम्बन्धी ऐन, २०६४ मा जतिसुकै सहुलियतको कुरा गरे पनि अन्त्यमा त्यस्ता सुविधा प्राप्त हुने अवस्थामा भने प्रश्नचिह्न लागेको छ ।
नेपालमा लगानीका अवसर नभएका होइनन् । शान्तिसुरक्षामा पनि विगतभन्दा धेरै सुधार भइसकेको छ । केही मात्रमा सुशासनको समस्या हुन सक्छ । सबैभन्दा महत्वपूर्ण कुरा नेपालमा हालका वर्षहरुमा भएको आर्थिक वृद्धि दर उल्लेख्य रहेको देखिन्छ । जुन विकासशील मुलुकहरु भन्दा धेरै छ । यसको अर्थ नेपालमा गरिने लगानीले विदेशमा गरिने लगानीभन्दा बढी आयआर्जन गर्न सक्छ । भारतीय सरकारले ठूला लगानीका साथै विदेशमा बस्ने भारतीय नागरिकका साना रकमहरुलाई पनि महत्वका साथ सहजीकरण गर्दा धेरै ठूलो रकम लगानी सम्भव भयो । यसैगरी नेपालमा पनि संसारका जुनसुकै स्थानमा रहेका नेपालीलाई विदेशी मुद्रामा रकम नेपालमा लगानी गर्न र फिर्ता लान सहजीकरण गर्ने हो भने नेपालमा पनि त्यस्तो रकम भित्र्याउन सकिने देखिन्छ ।
(लेखक नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’का प्रबन्धक हुन्)