विज्ञान प्रविधि

तरकारीको विषादी परिक्षण विवादमा सरकारको चौतर्फी विरोध

काठमाडौं । विदेशबाट आयात हुने फलफूल तथा तरकारीमा जीवनासक विषादी अवशेष परीक्षण गर्ने र विषादी देखिए नाकामै रोक्ने सरकारी निर्णय उल्टिएसँगै सरकारको व्यापक आलोचना शुरु भएको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेस, सामाजिक सञ्जाल तथा आम नागरिकबाट मात्र नभई सत्तारुढ दलकै नेता तथा भातृ संगठनबाट समेत सरकारको आलोचना शुरु भएको हो ।

शनिबार नेकपा नेता भीम रावलले सरकारको यस निर्णयप्रति आपत्ति जनाएका छन् ।

शनिबार नेकपा संसदीय दलको बैठकपछि संचारकर्मीसँग बोल्दै नेकपा नेता रावलले विश्‍व व्यापार संगठनको सम्झौताअनुसार कुनै देशले तरकारी वा वनस्पती आयात गर्ने क्रममा निश्‍चित मापदण्ड तोक्ने सक्ने उल्लेख गरे ।

सरकारले आफ्नो सार्वभौम अधिकारको रक्षा गर्नुपर्ने उनको तर्क थियो ।

उता, विषादी परिक्षण गरी हानिकारण्क तरकारीको आयातमा रोक लगाउने निर्णयबाट सरकार पछि हटेको भन्दै सत्तारुढ दल सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले विरोध गरेको छ ।

अनेरास्ववियूका कार्यवाहक अध्यक्ष रञ्जित तामाङद्धारा शनिबार जारी विज्ञप्तीमा जनपक्षीय निर्णयलाई तयारी नपुगेको भन्दै सरकार एकाएक पछि हटेकोमा गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।

यसबाट सरकार र सरकारका निकाय प्रत्यक्ष वा परोक्ष रुपमा कतै अनुचित विदेशी दबाबमा परेर पछि हटेका त हैनन् भन्ने आशंका पैदा भएको विज्ञप्तिमा उल्लेख छ ।

उता, शनिबारको नेकपा संसदीय दलको बैठकमा पनि सांसदहरुले सरकारको उक्त कदमको विरोध गरेका थिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक जनशक्ति र प्रविधि उपलब्ध भएपछि परिक्षण गरेरै तरकारी तथा फलफूल भित्रने भन्दै सरकार यस निर्णयबाट पछि नहटेको प्रतिक्रिया दिएका थिए ।

उनले सरकारका कामको वचाउ गर्न समेत सांसदहरुसमक्ष आग्रह गरे ।

सरकारले भारतबाट आयात हुने यस्ता सामग्रीको विषादी परिक्षण गर्न सामान आयात रोकेको थियो । तर, भारतीय दूतावासले आयात खोल्न पत्र पठाएसँगै सरकारले बीना परिक्षण आयात खुला गरेको हो ।