समाचार

८ जनाको ज्यान लिने हत्यारा पक्राउ

काठमाडौं । फरार अभियुक्त नसिम खान अन्ततः प्रहरीको पञ्जामा परेका छन् । एक बालकसहित आठ जनाको जघन्य हत्या गरेको अभियोगमा उनलाई प्रहरीले खोजिरहेको थियो ।

कपिलवस्तुका स्थानीय उनी शनिबार राजधानीबाट पक्राउ परेको प्रहरीले पुष्टी गरेको छ । ३ फागुन २०७४ मा बालक मोहम्मद आयमान मुसलमानको अपहरणपछि हत्या गरेको अभियोग उनीमाथि छ ।

त्यसपछि खान फरार भएका थिए । उनलाई कपिलबस्तु प्रहरीको सहयोगमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।

मायादेवी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष फत्ते मोहम्मदका छोरा आयमनको बुबा फत्ते मोहम्मदसँग ठेक्का विवादमा कुरा नमिलेपछि बदला लिन हत्या गरेको आरोप उनीमाथि छ ।

घटनापछि बालकका परिवारले नसिम र उनकी श्रीमती फौजिया नसिमबिरूद्व किटानी जाहेरी दिएका थिए। त्यसपछि उनीहरु फरार थिए ।

त्यसो त नसिमविरूद्व अन्य सात जघन्य हत्याको मुद्दा पनि दर्ता छ ।

तत्कालीन माओवादीका जिल्लास्तरीय नेता राजेन्द्र तिवारी, प्रेम परियार, अकाली धोबी, ज्ञानबहादुर सुनार, शिवपूजन कुर्मीलगायतको हत्यामा उनको संलग्नताको आरोप रहेको छ ।

कपिलवस्तु प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका उनीविरुद्ध हत्याबाहेक अपहरण र डकैतीका समेत मुद्दा जाहेरी रहेका छन् ।