समाचार

सेना-पुलिसका श्रीमती संघ खारेज हुनुपर्छ : भुसाल

काठमाडौं । नेकपा नेतृ पम्फा भुसालले सैनिक र प्रहरीको बजेटबाट श्रीमती संघ संचालन हुन नहुने बताएकी छिन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै भुसालले सेना र पुलिसमा रहेका श्रीमती संघहरु खारेज गर्नुपर्ने माग गरिन् ।

गणतन्त्रमा पनि राजतन्त्रकालिन अवशेष रहेको भन्दै उनले संविधानको प्रतिकूल हुने गरी अस्तित्वमा रहेका संस्थाहरु खारेज गर्नुपर्ने तर्क गरेकी छिन् ।

यस्ता निकायहरु राजतन्त्र कालिन समयमा सामन्ती पितृसत्तावादी सोचका आधारमा स्थापना भएको उनको भनाई छ ।

प्रधानसेनापतिबाट आफ्नी श्रीमतीलाई महारानी नभन्‍‍न निर्देशन दिएको प्रसंग उठाउँदै भुसालले सेना पुलिसको बजेटबाट श्रीमती संघ चल्नु ठीक नभएको बताइन ।

हिजोको शाही नेपाली सेना अहिले नेपाली सेनामा परिणत भइसकेको अवस्थामा परिवार र वंशवादमा आधारित पितृ सत्तावादी सोचसहित खडा भएका संरचना खारेज गर्नु उनले माग गरिन् । उनी पूर्वमन्त्री समेत हुन् ।