रोचक खवर

बच्चाको डाइपरमा लुकाएर सुन तस्करी

काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट ४ सय ग्राम अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङका लीलाबहादुर बस्नेत र नवलपरासीका बीरबहादुर थारू छन् ।

उनीहरुले बच्चाको डाइपरमा लुकाएर सुन ल्याएको प्रहरीले बताएको छ । लीलाबहादुर बस्नेत कतारको दोहाबाट हिमालयन एयरलाइन्समार्फत नेपाल आएका थिए ।

विमानस्थल प्रहरी र काठमाडौं प्रहरीको परिसरको संयुक्त टोलीले आइतबार चेकजाँचका क्रममा डाइपरमा सुन फेला पारेको प्रहरीले  जानकारी दिएको छ ।

यस्तै, नेपाल वायु सेवा निगमको दोहा उडानमा आएका नवलपरासीका बीरबहादुर थारूले पनि बस्नेतले जस्तै डाइपरमा सुन लुकाएर ल्याएका थिए।

प्रहरीले दुबै भरिया भएको र सुन तस्करले उनीहरुलाई प्रयोग गरेको उल्लेख गरेको छ । उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।