फिचर

महिला विश्वकपको उपाधि अमेरिकालाई, मेगनले पुरा गरिन् ट्रम्पको चुनौती

न्यूयोर्क
संयुक्त राज्य अमेरिकाले महिला विश्वकप फुटवलको उपाधि जितेको छ । आईतबार सम्पन्न फाइनलमा नेदरल्याण्डलाई २–० गोल अन्तरले हराउँदै अमेरिकाले उपाधि हात पारेको हो ।

अमेरिकाका लागि ६१ मिनेटमा कप्तान मेगन रापिनोले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाएकी थिइन् । ६९ मिनेटमा रोज लाभेल्लेले अर्को थोल थपेर टोलीको जित निश्चित गरिन् ।

अमेरिकाले यसपाली लगातार दोस्रो महिला विश्वकपको उपाधि जितेको हो भने लगातार तीन पटक फाइनल खेलेको हो । सन् २०११ मा जापानसँग फाइलनमा पराजित अमेरिकी टोलीले २०१५ मा जापानसँगै बदला लिँदै उपाधि भित्र्याएको थियो । महिला विश्वकपमा अमेरिका सर्वाधिक उपाधि जित्ने टोली समेत हो । सन् १९९१ मा सुरु भएको प्रतियोगिताको आठ संस्करण सम्पन्न हुँदा अमेरिकाले चार उपाधि जितेको छ ।

आईतबारको फाइनलमा सुरु देखिनै नेदरल्याण्डमाथि अमेरिकाले दबाब बढाएको थियो । पहिलो हाफमा नेदरल्याण्डकी गोल किपरले केही आकर्षक सेभ गर्दै गोल खानबाट टोलीलाई बचाएकी थिइन् । तर, दोस्रो हाफमा अमेरिकी आक्रमण सामु उनको केही लागेन । खेलमा अमेरिकाले कुल १० शक्तिशाली प्रहार गरेको थियो भने नेदरल्याण्डले एक मात्र प्रहार गर्न सफल भयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टोलीकी कप्तान मेगनबीचको नोकझोंकले पनि यसपालीको प्रतियोगिता रोचक भएको थियो । मेगनले अहिलेको सरकार र आफ्नो बिचार नमिल्ने कारण उपाधि जितेपनि ह्वाइट हाउस नजाने घोषणा गरेकी छिन् । ट्रम्पले भने उनलाई धेरै बोल्नु भन्दा उपाधि जितेर देखाउन चुनौती दिएका थिए । मेगनले उनको चुनौती पुरा गरेकी छिन् । उनले प्रतियोगितामा सर्वाधिक छ गोल गर्दै गाेल्डेन बुट समेत जितिन् ।

उनी सहित अर्की अमेरिकी खेलाडी एलेक्स मोर्गन र बेलायतकी एलेन ह्वाइटले पनि ६/६ गोल गरेका छन् । सर्वाधिक एसिष्ट गरेकाे कारण बुट मेगनकाे पाेल्टामा परेकाे हाे ।