समाचार

राष्ट्रिय खेलकुद परिषद्को नेतृत्व सिलवाललाई

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएका छन् । उनी गोल्डनगेट कलेजका प्रमुख कार्यकारी अधिकृत हुन् ।

शिक्षा व्यवसायसँग आवद्ध सिलवाललाई राखेप अध्यक्ष तथा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सोमबार सदस्य सचिव नियुक्त गरेका थिए ।

उनले सोमबार नै सपथ ग्रहण गरे । सथप ग्रहणपछि बोल्दै सदस्यसचिव सिलवालले निर्धारित समयमा साग खेलकुद प्रतियोगिता आयोजना गर्न आफ्नो प्राथमिकता हुने बताए ।

उनले आफूले जागिर खानका लागि मात्र नभई खेलकुदका माध्यमबाट देशको शीर उच्च राख्न जिम्मेवारी ग्रहण गरेको समेत उल्लेख गरे ।

खेलकुदमन्त्री विश्वकर्माले सिलवालको नियुक्तिले खेलकुद क्षेत्रको विकासमा फड्को मार्ने विश्वास व्यक्त गरे ।

९ असारमा केशबकुमार विष्टको कार्यकाल सकिएपछि राखेप सदस्यसचिव पद रिक्त थियो। विष्टको कार्यकालमा सरकारले गठन गरेको नेपाल क्रिकेट संघ (क्यान) तदर्थ समितिका संयोजक सिलवाल थिए।

निर्वाचित क्यानलाई विघटन गरेपछि आइसिसीले क्यानमाथि प्रतिबन्ध लगाएको छ। जुन अहिले पनि कामय रहेको छ। सिलवाल क्यानका पूर्व उपाध्यक्ष पनि हुन्।