बिचार

अबको राजनीति पनि जीवन जस्तै सरल अनि गतिशील हुनुपर्दछ

राजनीतिलाई नीतिहरु मध्यकै सर्बोत्कृष्ट नीति भनेर परिभाषित गरेपनि समाज र राज्यले त्यसरी स्विकार्ने गरेको छैन । त्यति मात्र होइन हामी त अझ “डर्टी पोलिटिक्स” भनेर मुख लोपार्दछौं अथवा खिसी गर्दछौं तर त्यसो भनिरहँदा हामीलाई किन त्यसो भन्न लगाईयो त्यस भित्रको गहिरो अभिष्ट र नियत बुझ्दैनौं । अब कत्ति पनि ढिला नगरी बुझ्नु पर्ने यथार्थ के हो भने सत्तासिन वर्गका मानिसहरु आम जनतालाई त्यसो भन्न उकास्दै  राजनीति प्रति आम मानिसमा नैराश्यता सिर्जना गर्न चाहन्छन् किनकी त्यसो गर्न सकियो भने राजनीतिमा उनीहरुको एकछत्र पारिवारिक राज र  एकाधिकार स्थापित हुने गर्दछ । चेतनशील शिक्षित तन्नेरी पुस्तामा राजनीति प्रति विकर्षण र बितृष्णा गर्न सक्दा उनीहरुलाई चीर कालसम्म लाभ हुन्छ । हरेक दिन दसौं हजार नेपाली परदेश लाग्दा सत्तासिनहरुलाई किन रत्तिभर चिन्ता हुँदैन ? किनकी सामाजिक प्रतिकार र राजनैतिक बिद्रोह गर्ने जुझारु पुस्ता बाटो लागीदिंदा उनीहरुको बिरासतको राजनीति फलिफाप हुन्छ ।   

यथास्थितिबादमा उन्मत्त रमाएका सत्ताधारी दलहरु र संस्थापन जहिले पनि परजीबी दासहरुको खोजी गर्दछ, जसले स्वाधिनता र स्वतन्त्रताको नैसर्गिक हक अधिकार खोज्दैन बरु पार्टीले अह्राएको खटाएको कामहरु आफ्नो जागिर अनि घर परिवारको प्राथमिकतालाई तिलाञ्जली दिएरै भएपनि “जी हजुर” को शैलीमा आधुनिक दासता स्वीकार गर्दछ । त्यही डिजाईन अन्तर्गतनै नेपालका ठुला पार्टीहरुले भात्री संगठनको कन्सेप्ट बिकास गरेका हुन् । परजिवी आधुनिक दासहरु जन्माउने त्यस्ता कारखानाहरु अहिले विदेश तिर बढोत्तरी भएको छ । नेताहरुलाई परिवार सहित विदेश घुम्न जाँदा एयरपोर्टमा लिन आउने, घरेलु भ्रमणका लागि हवाई टिकट काटी दिने, परदेशमा बसिन्जेल खानपिनको बन्दोबस्त गरिदिने, राजसी स्याहार सुसार गर्ने, कार्यकर्ता जम्मा गरेर अन्तरक्रिया गरिदिने अनि रंगरौसको उचित ब्यवस्थापन गर्दै “भईहाल्छ नि हजुर” भन्ने कार्यकर्ता चाहिएको छ जो अहिले प्रवासमा यत्रतत्र देख्न सकिन्छ ।              

त्यस्तो दासता स्वीकार्ने चेतना र संस्कारको कारण हामीले उतै हुँदा पनि बुझेर राजनीति गरेनछौं । विचार र वर्ग बुझेर राजनीति गरेको भए यहाँ हामीले बाँचेको जीवनमा पनि जीवन दर्शनले काम गर्न सक्दथ्यो तर अहं त्यसो भईरहेको छैन । हामीले वर्ग, विचार र चेतनाको गतिशील राजनीति होइन घृणा र बदलाको राजनीति मात्र सिकेछौं । करिब करिब यो सम्भावनायुक्त अमेरिकी प्रवासमा पनि हामी त्यही अनि त्यस्तै राजनीति गरिरहेका छौं ।  

यो अमेरिकी प्रवासमा आधुनिक दासता स्वीकार्दै भात्री संगठनको गुटपरस्त राजनीति गरिरहेको एकजना स्नेही भाईलाई मैले केही महिना अघि सोधेको थिएँ “होइन हौ भाई, अमेरिका बसेको दसकौंपछि पनि यो केको लागि भात्री संगठनको प्रत्युत्पादक राजनीति गरिरहनु भएको छ तपाईहरु ?” भन्दा उनको जवाफ थियो “दाई, कलेज पढ्दा मलाई अखिलेले मार्ने नियतले पिटेको थियो म त भाग्यले पो बाँचे हेर्नुस अझै चोटहरु छन अनि म कसरी कांग्रेस नबनी बाँच्न सक्छु?” नेबिसंघवालाको मात्र होइन पुर्व अखिलेहरुको कथा र बदलाको हिसाब किताब पनि करिब उस्तै उस्तै छ । त्यसैले त उनीहरु आफुलाई जन्मदै कांग्रेस भएको, पुर्खौली नेकपा अनि खानदानी राजाबादी भएको ठान्दछन ।      

राजनीति बुझ्दा होस् या गर्दा हामीले पहिले आफ्नो वर्गीय स्वार्थ हेर्नु पर्दछ । अमेरिकामा बसेर बीपीको सपना या पुष्पलालको सपना भनेर बासी सपनामा आफ्ना बहुआयामिक सम्भावनाको असामयिक बलात हत्या गर्नु पहिले बीपी अथवा पुष्पलालका सपना यताका कुन विचार, बाद, चिन्तन या नेता-नेतृत्वसंग मेल खान्छ त्यसको सुक्ष्म पहिचान गर्नु पर्दछ ।

तल्ला टोलका अमेरिकी मुखियाले हिलारी क्लिन्टनको टी-शर्टनै लगाएर क्याम्पेनमा हिंडेका छन भने अब हामीले तिनको पछि लागेर किन उनको ब्यानर उचाल्ने ? मलाई त्यो हड्सनपारीको नेपालको बामे बर्नी स्यान्डर्सको वकालत गर्दै र्यालीहरुमा उफ्रन्छ अनि मध्यरातमा त्यो सोसलिष्ट सान्डर्सको पक्षमा चर्काचर्का स्टाटसहरु पोस्ट गर्छन ऊ उसै पनि दुई दशक अघि नेपालमा हुँदा कम्निष्टनै थियो अब हामी बीपीबादी कांग्रेसहरुले किन उसको कुरो मान्ने ? बरु हामीले त उताको हाम्रै पार्टीको लाईनमा गएर डोनाल्ड ट्रम्पको “मेक अमेरिका ग्रेट अगेन” को समर्थन पो गर्नु पर्छ भनेर फुटपरस्त र बदलाकेन्द्रित दृष्टीदोष सहित नेपालीपाराकै राजनीति हुने गरेको यथार्थ हामीले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा देख्यौं । त्यति मात्र कहाँ हो र बीपीको समाजबाद अलिअलि बुझेका अनि बर्षको एक दिन बीपीको सपना साकार पार्छौं भन्दै ज्याक्सन हाईट्सको भुईंतल्लामा तीन बित्ता उफ्रन्दै भाषण गर्ने केही कांग्रेसीहरुले अनुदार दक्षिणपन्थी रिपब्लिकनकै लवजमा आम जनताको शिक्षा र स्वास्थ्यको प्रत्याभूति राज्यले दिनुपर्छ भनेर श्रमजीवी कामदारवर्गको पक्षपोषण गर्ने बर्नी सान्डर्सलाई “कम्युनिष्ट” र “समाजबादी” भन्दै गाली समेत गरे ।

शैलेश श्रेष्ठ

न्युजर्सी, अमेरिका