कानुनी कुरा

फिङ्गर प्रिन्ट्स दिएको ९ महिना भयो, अहिलेसम्म ग्रीनकार्ड आएन ?

रमेश श्रेष्ठ
कानुन ब्यबसायी ,न्युयोर्क

मैले मेरो शरणार्थीको निवेदन स्वीकृति भएको आधारमा आई–४८५ एप्लिकेसन एक वर्षअघि युएससीआईएसमा पेश गरेको थिएँ । साथीहरुको सल्लाहअनुसार आई–४८५ एप्लिकेसनको फी नराखी फी वेभरको फर्म आई–९१२ भरेर पठाएको थिएँ । निवेदन प्राप्त भएको रिसिप्ट र फिङ्गर प्रिन्टको एप्वाइन्टमेन्ट पनि आयो । फिङ्गर प्रिन्ट्स दिएको पनि ९ महिना भइसक्यो अहिलेसम्म ग्रीनकार्ड आएन । इन्क्वायरी गर्दा मेरो निवेदन पेन्डिङ छ भन्ने जबाफ मात्र पाइन्छ । के भएको होला ? जबाफको लागि धेरैधेरै धन्यवाद ।

– धिरेश यादव, न्यूयोर्क

युएससीआईएसको दस्तुर वा फि वेभ गरी पाउँ भनी निवेदन दिनका लागि मुख्य कुरा सो निवेदकले सो फि तिर्न नसक्ने अवस्था अथवा ‘इनएबिलिटी टु पे’ भनी देखाउनुपर्ने हुन्छ । सो फि तिर्नका लागि आर्थिक कारणले असमर्थतना देखाउनका लागि विभिन्न आधारहरुमध्येमा कम्तीमा एक आधारका कारण सो वेभर वा माफी पाउनका लागि क्वालिफाइड हुनुपर्ने हुन्छ । ती आधारहरु हुन्– १) फेडरल रुलका आधारमा आवश्यकताअनुरुप पब्लिक बेनिफिट पाउन याग्य भएको वा पाइरहेको, (२) अमेरिकी सरकारले तोकेको पोभर्टी गाइडलाइन्सको हाउसहोल्ड इन्कमभन्दा कम हाउसहोल्ड इनकम भएको, (३) ६५ वा सोभन्दा बढी उमेरको वृद्ध भएको, (४) फेडरल गभर्मेन्ट एजेन्सीले अपाङ्ग हो भनी घोषणा गरिएको, (५) निवेदकको बच्चाहरुको उमेर र संख्या जसले निवेदकसँगै डेरिभेटिभ स्टाटसका लागि माग गरेका छन् । (६) मानवता वा अन्य सोही किसिमको कारण (जस्तै– बिरामी वा पीडित स्पाउस वा चाइल्ड) ।
यी माथिका कुनै पनि एक आधार रहेको अवस्थामा मात्र युएससीआईएस फीको वेभर वा माफी माग्न सकिन्छ । तपाईंले आई–४८५ एप्लिकेसन र फर्म–९१२ पेश गर्दा अवश्य पनि चाहिने कागजपत्रहरु जसले तपाईंको आर्थिक अवस्था कानूनले डिफाइन गरेजस्तै कमजोर भई आवश्यक दस्तुर तिर्न नसक्ने भनी देखाउनुभएको नै होला । फी वेभरको माग राखेपछि सर्वप्रथम युएससीआईएसले तपाईंको फी वेभरको निवेदन स्वीकृत गर्ने कि अस्वीकृत गर्ने भनी निर्णय गर्नुपर्ने हुन्छ । फी वेभरको रिक्वेष्टलाई तपार्ईंले पेश गर्नुभएको कागजातहरु जस्तै– ट्याक्स रिर्टन्स आदिलाई छानबिन गरी तपाईंलाई वेभर वा फी माफी गर्नुपर्ने भनी निर्णय गरी वेभरको स्वीकृति गरेपछि मात्र तपाईंको आई–४८५ को एड्जडिकेसन हुनेछ । यदि फि वेभरको रिक्वेष्ट अस्वीकृत भएमा, लाग्नी फी पेश गर्न भनी माग पनि गर्न सक्ने हुन्छ । यी विभिन्न प्रक्रियाहरुद्वारा जानुपर्ने भएकाले गर्दा पनि तपाईंको आई–४८५ एप्लिकेसनको प्रोसेसमा डिले भएको हुन सक्छ । मुख्यगरी इमिग्रेसन बेनिफिटको एप्किलेसनहरुको प्रोसेसिङ केस बाई केस हुने भएकाले कुनै कुनै एप्लिकेसनको प्रोसेसिङमा धेरै समय लाग्ने पनि हुन सक्छ ।