समाचार

अमेरिकी महिला फुटबलकी स्टार मेगन ट्रफीसँगै विद्रोहको प्रतीक बनेर फर्किन्

प्रभात भट्टराई
अमेरिका
जुन पहिलो साता विश्वकपमा भाग लिन युरोप उड्दा मेगन रापिनोको आम चिनारी टोलीको उपकप्तानकै रुपमा थियो । एक महिना पछि ट्रफी लिएर फर्किंदा उनी एक वैचारिक मिसालका रुपमा अवतरण गरेकी छिन् ।
सकर भनेर चिनिने फुटबल अमेरिकामा सर्वाधिक लोकप्रिय खेल होइन । त्यसैले पनि रापिनोमा त्यसबेला त्यति धेरै नजर थिएनन् आज जति छन् । खुलेआम समलिङ्गी रापिनो समानताको लडाइँमा पनि उत्तिकै सक्रिय थिइन् जति फुटबलको मैदानमा छिन् । तेस्रो लिङ्गी एवम् अश्वेत अमेरिकीहरुलाई समान आँखाले हेरिनुपर्छ भन्ने उनको माग यो विश्वकपले हर अमेरिकीको दिमागमा पु¥याइदिएको छ । विश्वकपमा समूह चरणका खेल सकिएका थिए । अमेरिकाले आफ्नो समूहका सबै खेल जितेर उपाधि दाबेदारी प्रस्तुत गरिसकेको थियो । एक पत्रकारले रापिनोलाई सोधे– ‘उपाधि जिते त ह्वाइट हाऊस जाने होला नि खुसी मनाउन ?’
रापिनोले सिधा जवाफ दिइन्– ‘हामीलाई त्यहाँ बोलाइन्छ भन्ने नै लाग्दैन, बोलाए पनि म जान्न ।’ आफ्नो आलोचना सुन्न नचाहने राष्ट्रपति डोनाल्ड ट्रम्पलाई के चाहियो, रापिनोलाई गाली गर्दै ट्विटको वर्षा नै गरे । मेगनले मुलुक, झण्डा र ह्वाइट हाउसको अपमान गरेको आरोप ट्रम्पको थियो । साथै ह्वाइट हाउसमा बोलाउने–नबोलाउने जिम्मा आफ्नो हुने र गफ गर्नुभन्दा पहिले जितेर देखाउनसमेत मेगनलाई उनले चुनौती दिए ।
ट्रम्पले नै यति बोलिदिएपछि उनका समर्थकलाई के चाहियो र ! मेगनलाई मुलुकप्रति घात गरेको आरोपले सामाजिक सञ्जाल नै भरियो । तर, उनी टसमस भइनन् । आफू हृदयदेखि नै अमेरिकी रहेको र ट्रम्पसँग एकाकार हुनु मात्र देशप्रेमको आधार नरहने जवाफ फर्काइन् । मैदान बाहिरको यो नोकझोंकले खेलका लागि भने उनीमाथि नयाँ जोश नै थप्न पुग्यो । समूह चरण पार गरेपछिका दुई खेलमा उनले लगातार चार गोल गरिन् । यिनै गोलको मद्दतले अमेरिका सेमिफाइनल पुग्यो । ह्यामस्ट्रिम चोटका कारण उनी सेमी खेल्न सकिनन् । जोसिएको टोलीले सेमीमा बेलायतलाई हरायो ।
मेगन फाइनलमा फिट भएर मैदान फर्किइन् कप्तानको आर्मब्याण्ड सहित । नेदरल्याण्डमाथि अमेरिकाले सुरुदेखि नै दबाब बढाए पनि पहिलो हाफमा गोल गर्न सकेको थिएन । दोस्रो हाफ सुरु भएको १५ मिनेटमै अमेरिकाले पेनाल्टी पायो । सुट गर्ने जिम्मा मेगनकै थियो । नभन्दै प्रहारलाई गोलमा परिणत गरेर उनले टोलीलाई विश्वकप ट्रफीको नजिकतर्फ धकेलिन् । उक्त प्रहारसँगै प्रतियोगितामा उनको व्यक्तिगत गोलसंख्या छ पुग्यो । गोल्डेन बुट हत्याइन् । साथै, प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि उनी नै छनौट भइन् र गोल्डेन बल पनि आफैँले हात पारिन् । एउटै खेलाडीले व्यक्तिगत विधाका दुई प्रमुख अवार्ड जित्ने संयोग विश्व फुटबलमा विरलै हुने गर्छ, जुन मेगनले हात पारिन् ।
यो विश्वकपमार्फत मेगनले एकातिर आलोचकहरुलाई व्यवहारबाटै जवाफ दिएकी छिन् भने अर्कोतिर विद्रोहको शक्तिशाली प्रतीकको रुपमा आफूलाई थप अग्ल्याउन सफल भएकी छिन् । आफू समानताको लडाइँमा रहेको उद्घोष त उनले पटक–पटक गरिसकेकी थिइन् । तर, यो विश्वकपले उनको लडाइँलाई आम बनाइदिएको छ ।
गत मार्चमा अमेरिकी महिला सकर टोलीले पुरुषहरुको समान तलबका लागि सकर एसोसिएसनविरुद्ध मुद्दा हाल्यो । त्यसको प्रमुख अभियानकर्ताका रुपमा थिइन् मेगन । सन् २०१५ मा पनि विश्वकप जितेको अमेरिकी महिला टोलीले सकरमा राष्ट्रिय पुरुष टोलीले भन्दा धेरै आय जुटाएको थियो । तर, महिला टोलीलाई पारिश्रमिक भने पुरुषको तुलनामा ३८ प्रतिशत मात्र दिइएको यथार्थ खुलेपछि मेगनले विद्रोहको नेतृत्व गरिन् । अहिले ट्रम्प प्रशासनसँगको उनको लडाइँमा पनि यिनै मुद्दाहरु कारक रहेका छन् । आफूहरु जुन सोंच र वैचारिक धरातलबाट यहाँसम्म आइपुगेको हो त्यो ट्रम्प प्रशासनसँग बिल्कुल नमिल्ने कारण निम्तो आए पनि आफू खुसियाली मनाउन ह्वाइट हाउस नजाने उनले प्रष्ट पारेकी छिन् ।
उनको आवाजमा मात्र होइन मैदानमा समेत विद्रोह देखिने गरेको छ । विभेदको विरोध गर्दै राष्ट्रगानमा घुँडा टेक्ने एनबीए खेलाडीहरुप्रति उनले ऐक्यबद्धता जनाएकी थिइन् । साथै, खेल दौरान बज्ने राष्ट्रगानमा हात छातीमा राख्न उनी आफूले पनि अस्वीकार गरेर विरोध जनाउँदै आएकी छिन् ।
३४ वर्षीय मेगन सन् २००६ बाट राष्ट्रिय टोलीमा छिन् र आइतबारको फाइनलमा गरेको गोल मुलुकका लागि उनको ५०औँ गोलसमेत हो । उनी अमेरिकी महिला बास्केटबल खेलाडी सु बर्डसँग सम्बन्धमा रहेकी छिन् । खेल दौरान निकै नोकझोंक चले पनि ट्रम्पले अन्ततः अमेरिकी टोलीलाई ट्विटरमार्फत बधाई भने दिएका छन् । खेल सकिएको झण्डै चार घण्टापछि उत्साहजनक खेलमा टोलीले उपाधि हात पारेको भन्दै उनले बधाई दिएका हुन् । टोलीलाई ह्वाइट हाउस बोलाउने–नबोलाउनेबारे भने उनले केही बोलेका छैनन् । आज बुधबार न्युयोर्क सिटि हलमा हजारौको भिड सहित आयोजित बिशाल विजयी उत्सब समारोहमा मेगनले आफ्नो बक्तब्यको क्रममा लैंगिक समानताको वकालत गरिन र भनिन “ धेरै माया थोरै घृणा गर “ ।