स्वास्थ्य

बालविवाह रोक्न सरकार कट्टिवद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हुने सबै प्रकारको बाल विवाह रोक्न सरकार कट्टिवद्ध रहेको बताएका छन् ।

विश्व जनसङ्ख्या दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले बाल विवाहलाई विकास प्रतिफलको नकारात्मक सूचकको संज्ञा दिँदै यसमा परिवर्तन ल्याउन प्रयास भइरहेको उल्लेख गरेका छन ।

‘कुनै पनि प्रकारको बालश्रम र बाल दुव्र्यवहारप्रति सरकारले शून्य सहनशीलताको नीति अख्तियार गरेको छ, उनले भनेका छन्, ‘बालविवाहजस्तो विकासको प्रतिफलको नकारात्मक सूचकमा परिवर्तन ल्याउन प्रयास भइरहेका छन् ।’

उनले बालविवाह रोकथाममा वर्तमान सरकार कटिबद्ध रहेको बताएका हुन । आगामी दिनमा प्रजनन यिन्त्रणभन्दा व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको भनाई छ ।

प्रजननदर घटाएर जनसङ्ख्या वृद्धिदर नियन्त्रण गर्ने नीति अहिले अपनाइएको छ । शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरमा आएको सुधारसहित जन्मदरमा आएको कमीलाई ध्यानमा राख्दै यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने प्रधानमन्त्रीको जोड छ ।

जुलाई ११ लाई संयुक्त राष्ट्र सङ्घले विश्व जनसङ्ख्या दिवस तोकेको छ । प्रधानमन्त्री ओलीले ज्येष्ठ नागरिकको सामाजिक, आर्थिक, पारिवारिक र आवासको सुरक्षाका साथै उनीहरुको स्वास्थ्य सेवा र तन्दुरुस्ती पनि सरकारको प्राथमिकतामा परेको उल्लेख गरेका छन् ।

युवा जनशक्तिको बसाइँसराइका प्रवृत्तिलाई नियमन गर्दै कामको खोजीमा बाह्य मुलुक जान लालायित युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने र उनीहरुको क्षमता यहीँ परिचालन गर्ने सोचका साथ काम हुन थालेको उनको दावि छ ।