फिचर

चीनसँग हवाइ सम्झौता पुनरावलोकन हुने

काठमाडौं । नेपाल र चीनबीच हवाई सेवा सम्झौता पुनरावलोकन हुने भएको छ । यसका लागि सरकारले स्वीकृति दिने निर्णय गरेको छ ।

नेपाल सरकार र चीन सरकारका प्रतिनिधीमण्डलबीच चीनको राजधानी बेइजिङ्गमा २५–२६ जुलाई २०१९ मा हुने वार्ताका लागि सरकारले वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

उनका अनुसार चीन र नेपालबीचको वातार्मा उडान संख्या तथा रुट वृद्धिका विषयमा द्धिपक्षीय सम्झौता हुँदैछ ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हवाई सेवा सम्झौता हेर्ने सहसचिवको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरिएको छ ।

सोही टोलीले वार्ता गरी हवाई सेवा सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने भएको छ । चीन र नेपाल हवाई सम्झौतासहित मन्त्रिपरिषदका विभिन्न २५ वटा निर्णय बास्कोटले बिहीबार सार्वजनिक गरे ।

असार १९, २३ र २४ गते मन्त्रिपरिषद बैठकले गरेका निर्णय बिहीबार सार्वजनिक गरिएको हो । मन्त्रिपरिषद्ले विद्युतीय बस खरिद गर्न दिने निर्णय गरेको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिइएको छ भने भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पनि संघीय संसदमा पेश गर्न स्वीकृति दिइएको छ ।

बीउ विजनको किसिम, जातहरूको सूची नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको मन्त्री बास्कोटाले जानकारी दिए ।

सर्लाही घटनाका मृतक सरोजनारायण सिंहको परिवारलाई राहतस्वरूप १० लाख रूपैयाँ उपलब्ध गराइने भएको छ ।

आन्दोलनका क्रममा घाइते भएकाहरूको सरकारी अस्पतालमा उपचार गराएको खर्चको प्रमाणित बीलवापतको रकमसमेत उपलब्ध गराउने निर्णय समेत मन्त्रीपरिषद्ले गरेको छ ।