समाचार

त्रिविको दावि : प्रधानमन्त्री हिड्न हिलोमा ओच्छ्याइएको कार्पेट होइन, प्लाइउड

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीको सवारीका बेला हिलो माथि कार्पेट बिच्छ्याएको भन्दै भएको प्रचारको खण्डन गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँड्न कार्पेट नभई प्लाइउड बिच्छाइएको विश्वविद्यालयको दावि छ ।

बुधबार त्रिविको ६०औ वार्षिकोत्सवका अवसरमा विश्वविद्यालय परिसर पुगेका प्रधानमन्त्रीलाई हिड्न हिलोमाथि कार्पेट ओच्छ्याइएको तस्वीर भाइरल भएको छ ।

उपकुलपतिको कार्यालय र सरस्वती मन्दिर उद्घाटन गर्ने क्रममा बाटोमा हिलो भएकोले कुलपति हिँड्न सजिलो होस् भनेर प्लाइउड बिच्छाए पनि सञ्चार माध्यमले रातो कार्पेट लेखेर गरिमालाई धमिल्याउन खोजेको त्रिविद्धारा बिहीबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्रिवि रजिष्ट्रार कार्यालयबाट सूचना अधिकारी दीपक शाहीले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै प्लाइउडलाई रातो कार्पेट भनी भएको प्रचारप्रति त्रिविको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

त्रिविले हुँदै नभएको घटनालाई लिएर अतिरञ्जित गरेको समेत दाबी गरेको छ। त्यसो त स्वयमः प्रधानमन्त्रीले समेत मिडियाले मिसनमा लेखिरहेको भन्दै रातो कार्पेट बिच्छ्याएको विषय सत्य नभएको बताए ।

उनले राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै विषादी परिक्षणका विषयमा भारतीय दूतावासको पत्रका बारे आफूलाई थाहा नदिएकाले जनतासामू आफु लज्जित हुनु परेको समेत गुनासो गरे ।