घूमघाम

एकैदिन ९४ आरोही सगरमाथा शिखरमा

सोलुखुम्बु । सगरमाथा आरोहणको चौथो दिन अर्थात् बुधबार एकैपटक करिब १ सय जनाले शिखरको चुचुरोमा पाइला टेकेका छन् । विभिन्न आरोहण दलबाट गएकाले फरक–फरक समयमा एकै दिनमा ९४ जनाले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

आरोहणको तेस्रो दिन मौसम प्रतिकूलताका कारण कुनै पनि आरोहण नभए पनि चौथो दिन बुधबार मौसममा सुधार आएसँगै आरोहण सफल भएको सम्पर्क अधिकृत श्रेष्ठको भनाइ छ ।

वैशाख ३० गतेदेखि आरोहण शुरु भएको पहिलो दिन बाटो निर्माण गर्दै गएका आठ जना शेर्पा गाइडले एकै पटक शिखर चुमेका थिए । यस्तै दोस्रो दिन विभिन्न समूहबाट गएका ३९ जना आरोही शिखरमा पुगेका थिए । सम्पर्क अधिकृत श्रेष्ठ भन्छन्– ‘तेस्रो दिन मौसम प्रतिकूलताका कारण कुनै आरोहण भएन, तर चौथो दिन भने ९४ जनाले आरोहण गर्न सफल भएका छन् ।’

कामिरीताको नयाँ विश्व कीर्तिमान

आरोही कामिरीता शेर्पाले सगरमाथा आरोहणमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । शेर्पाले यो सिजनसहित २२ पटक सगरमाथाको चुचुरोमा पाइला टेकेर नयाँ विश्व कीर्तिमान राख्न सफल भएका हुन् । कामिरीताले यसअघि २१ पटक सगरमाथाको शिखरमा पुगेका आप्पा शेर्पाको विश्व कीर्तिमान तोडेका छन् ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा जन्मेका ४८ वर्षीय कामिरीताले सन् १९९२ देखि सगरमाथा आरोहण शुरु गरेका हुन् । रासस