विश्व

यूएईमा नेपाली कामदारमाथि झन कडाई, श्रीमती र छोराछोरीलाई दूतावासले एनओसी नदिने

काठमाडौं । संयुक्त अरव इमिरेट्स (यूइए)मा काम गरिरहेका नेपालीले अब भ्रमण भिसामा आफ्ना सबैभन्दा नजिकका आफन्तलाई पनि उक्त देशमा बोलाउन नपाउने भएका छन् ।

यसअघि कामदारले नजिकका आफन्त (श्रीमान, श्रीमती, छोराछोरी, बुबाआमा वा सासुससुरा)लाई भ्रमण भिसामा यूएइ लगेर भ्रमण गराउन चाहे त्यहास्थित नेपाली दूतावासले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) उपलब्ध गराउँदै आएको थियो ।

एनओसी उपलब्ध गराउने प्रावधान सोमबारबाट खारेज गरिएको भन्दै दूतावासले आइतबार सूचना जारी गरेको छ ।

यससँगै अब भ्रमण भिसामा यूएइ जाने कामदारका आफन्त पर्यटक सरह उक्त देश जान पाउने भएपनि आफ्नै जोखिममा जानु पर्ने भएको छ ।

पछिल्लो समय खाडी मुलुकमा भ्रमण भिसामा नेपालीहरुलाई कडाई गर्दै गएको छ । खासगरी भ्रमण भिसामा छिरेर उतै भाग्ने प्रवृत्ति तथा कतिपय मानिस मानव बेचविखनको जोखिममा पर्ने सम्भावना पनि उत्तिकै रहन्छ ।

अहिले भारत हुँदै खाडी मुलुक छिर्न समेत भारतीय दूतावासको एनओसी अनिवार्य गरिएको छ ।