विज्ञान प्रविधि

पूर्ण क्षमतामा चल्यो कुलेखानी, टर्यो जोखिम-घट्यो आयात

काठमाडौं । जलासय असारमै भरिएपछि नेपाल विद्युत प्राधिकरणले कुलेखानी जलविद्युत आयोजनालाई पूर्ण क्षमतामा संचालनमा ल्याएको छ ।

जलासय भरिएर बाँध खोल्नुपर्ने अवस्था आएपछि प्राधिकरणले पानीको सुरक्षित निकासका लागि आयोजनालाई पूर्ण क्षमतामा चलाउने निर्णय गरको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

लगातार वर्षाका कारण मकवानपुरमा रहेको कुलेखानी जलविद्युत केन्द्रको जलाशय असारमै भरिएको हो । गत वर्ष भर्षभरिमा जलाशयमा पानीको सतह १५२६ मीटर मात्र थियो ।

यस वर्ष सोमबार विहानसम्ममा १५२६ मीटर पुगेको छ । सोमबार बिहान साढे पाँच बजे १५२५.१७ मीटर रहेको जलाशयको पानीको सतह १० बजे बढेर १५२६ मीटर पुगेको थियो ।

जलाशयमा अधिकतम १५३१ मीटरसम्म मात्रै पानी भण्डारण हुन सक्ने क्षमता छ । त्यस क्षेत्रमा लगातार परिरहेको पानीका कारण तीन÷चार दिनमै जलाशयमा पानीको सतह करिब २० मीटर बढेको छ ।

जलाशयमा पानी भरिएपछि कुलेखानी पहिलो (६० मेगावाट) र दोस्रो (३२ मेगावाट) पूर्ण क्षमतामा चलाइएको घिसिङले जानकारी दिए ।

‘पानी पर्न भरखर सुरु भएको छ, विगतका वर्षमा असोजमा मात्रै भरिने जलाशय यस वर्ष तीन महिना अगाडि नै भरियो’,उनले भने । ‘विगतमा वर्खामा कुलेखानी विद्युत्गृह चल्दैन थियो, अहिले असारमै पानी भरिएपछि कुलेखानीलाई पूर्ण क्षमतामा चलाई भारततर्फ विद्युत आयातलाई घटाएका छौं ।’

कुलेखानी पहिलो विद्युतगृह पूर्ण क्षमतामा चलाउँदा एक घण्टामा जलाशयको पानीको सतह २ सेन्टिमीटर मात्रै घट्ने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

कुलेखानी वर्खाको पानी जम्मा गरी मुख्य रुपमा विद्युत अध्याधिक माग हुने हिउँदमा मात्रै चलाउने आयोजना हो । विद्युत आवश्यक परेको बेला प्रणालीलाई सन्तुलन कायम गर्न मात्रै कुलेखानी चलाइन्छ ।

प्राधिकरणले अहिले ढक्केबर–मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाइनबाट मात्रै करिब १५० मेगावाट विद्युत आयात गरिरहेको छ ।

अविरल वर्षका कारण तराईमा विद्युत माग घटेको छ । अहिले मुलुकभरको विद्युत माग करिब ६ सय मेगावाट मात्रै छ । कुलेखानीको पानी बाग्मती नदीमा गएर मिसिन्छ ।