विश्व

चिनियाँ लगानीको विलासी पाकिस्तानी होटलमा आक्रमण, पाँचको मृत्यु

एजेन्सी
चिनियाँ लगानीमा निर्मित पाकिस्तानको एक विलासी होटलमा आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ । बलोचिस्तान प्रान्तको जाभेर पर्ल कन्टिनेन्टल होटलमा एक शसस्त्र समुहले आक्रमण गरेर चार कर्मचारी र एक सैनिकको हत्या गरेको स्थानीय सेनाले जनाएको हो ।
अरब सागर नजिकैको होटलमा शनिबार अपरान्ह तीन बन्दुकधारी छिरेका थिए । सुरक्षाकर्मीसँगको भिडन्तमा उनीहरुको पनि मृत्यु भएको छ । हमलामा थप छ जना घाइते भएको सेनाले जनाएको छ ।

होटल अधिकारीका अनुसार रमजानको कारण होटलमा अतिथी थिएनन् भने कर्मचारी पनि थोरै मात्र थिए । स्थानीय पृथकताबादी समूह बलोचिस्तान लिबरेशन आर्मीले घटनाको जिम्मा लिएको छ । उनीहरुले चिनियाँ र अन्य विदेशी लगानीकर्तालाई लक्षित बनाएको बताएका छन् ।

उक्त होटल अर्बौं डलर चिनियाँ लगानीमा बनेको परियोजना हो । पछिल्लो समय चीनले पाकिस्तानमा यस्ता परियोजना निर्माणमा तीब्रता दिएको छ । सैन्य पोसाक लगाएका ती हतियारधारी स्थानीय समय अनुसार शनिबार दिउँसो ४:५० बजे होटलमा छिरेका थिए ।

होटलका सुरक्षाकर्मीले रोक्न खोज्ने बित्तिकै आक्रमणकारीले गोली चलाएका थिए । पाकिस्तानी सेनाका अनुसार त्यसपछि उनीहरु होटलका अतिथीलाई बन्दी बनाउने उद्देश्यले चौथो तलामा उक्लिएका थिए । उनीहरुले सिसिटिभीको तार काटेका थिए भने चौथो तलामा कसैलाई जान नदिन बम समेत राखेका थिए । त्यहीँ उनीहरुलाई सुरक्षाकर्मीले मारिदिएका हुन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बलोचिस्तान आक्रमण सेनाले विफल बनाएको बताएका छन् ।