Epapers :

21-Aug-2019 | ४ भाद्र २०७६, बुधबार

रामराज्य, जटायु र कागभुशुण्डी

१ श्रावण २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


पुरुषोत्तम लम्साल

यो वर्ष पनि नेपाली साहित्यका ‘श्रेणीमा प्रथम अर्थात् गणनामा सर्वप्रथम कवि’ भानुभक्त आचार्यको जन्मजयन्ती धुमधामले मनाइयो । बिर्खे टोपी ट्रेडमार्क भएका भानुभक्तबारे विभिन्न कोणमा बहस भए । कतिले तात्कालीन समाजको यथार्थ मानेर उनको प्रशंसा गरे, कतिले जात, भाषा र धर्म जोडेर ठट्टा । यो पाटो अलग्गै रह्यो । भानुभक्तबारे मेरो आफ्नै धारणाले यहाँ अर्थ राख्दैन । तर भानुभक्तले नेपाली भाषामार्फत जनबोलीमा ल्याएको भनिएको रामायण कृतिको विषयमा जहिल्यै कुतूहलता हुन्छ । र, रामायण आयो कि सधैं कान ठाडो । ध्वनी र वाणी ठम्याउनसक्ने भएदेखि परिवार, समाज, विद्यालयबाटै सुनिरहेको भएकाले होला रामायण सधैं चासोको विषय हुनेगरेको । यसैले आजको बसाई भानुजयन्ती सन्दर्भमा भन्दा रामराज्य, जटायु र कागभुशुण्डीमा बस्ने यत्न गरें ।

धर्म र राजनीतिको तन्तु

एउटै कृतिले हजारौं वर्षसम्म समाजलाई कसरी बाँध्न सकेको होला ? रामायणको सन्दर्भमा यो प्रश्न सधैं सोधिरहेको हुन्छु । संसारको सम्पूर्ण साहित्यमा रामायणभन्दा बाहिरको कृतिले कुनै समाज र विचारलाई हजारौं वर्षसम्म बाँधेर राखेको उदाहरण छ ? भए पनि बिरलै होलान् । साहित्यिक कृति मानवधर्म, समाजधर्म र राज्यधर्म नजोडिएको भए सम्भवतः रामायणको यतिविध्न बहस, खोज नहुने पो थियो कि ! यो मेरो सन्देह हो ।

रामलाई ईश्वर वा भगवानको अवतारको रुपमा मान्ने कि नमान्ने ? यसका लागि आआफ्नै तर्क, आस्था र विश्वास हुनसक्लान् । म यसमा अल्झन्न । मेरा लागि वाल्मिकीले रामायणमार्फत् दुई हजार वर्षभन्दा पुरानो समाजबाट एउटा लोकनायक दिए । लोकनायक अर्थात् आदर्शपुरुष । अनुकरणीय आदर्श चरित्र । मेरा लागि अवतारवादले लोकनायकको चरित्र बोक्न सक्दैन । यत्ति हो ।

रामनवमीको प्रसाद खाएर, विजयादशमीमा उपासना गरेर, तिहारमा हल्लीखल्ली गरेर आएकाले यसो भनेको होइन, कृतिको रुपमा त्यो युगमा रामायणले परिकल्पना गरेको समाजको आधारमा भनेको हूँ । रावणको बध गरेसँगै अयोध्या आइपुगेका राम मेरा लागि राजा वा भगवानको फिर्तीभन्दा बढी नैतिक आदर्शको पुनरागमन लागेर त्यस्तो विचार पलाएको हो ।

धर्मको अर्थ सदाचार, सद्विचार, अनुशासन र लोकहित नै हो । राजनीतिको अभिष्ट गलत कुराहरुविरुद्ध लड्दै असल मान्यता स्थापना गर्नु हो । त्यसैले मेरो बिचारमा राजनीति पनि धर्म नै हो । यसो भनौं, हुनपर्ने हो । प्रश्न सिधा छ, धर्मको आवश्यकता किन पर्यो ? समाजलाई थितिमा बाँध्न । समाजलाई अनुशासनमा राख्न । व्यक्तिलाई नैतिक चरित्रबाट विमुख हुन नदिन । अनि राजनीतिको आवश्यकता किन ? विधि बनाउन, थिती कायम राख्न, राज्यको मर्यादा स्थापना गर्न, न्यायव्यवस्था कसिलो बनाउन । त्यसो भए राजनीति र धर्म एकै हुन् ? चरित्र र विधि फरक भए पनि अभिष्ट एकै हुन् । अर्थात् राजनीतिक हुनुको अर्थ कुनै पनि रुपमा भइरहेको अधर्मको विरुद्ध बोल्नु हो, सत्य र न्यायको पक्षमा आवाज उठाउनु हो । यसो भन्दा तपाईलाई अचम्म लाग्छ ? नलाग्न पर्ने हो । यसैले कृतिको रुपमा वा कुनै ठूलो धार्मिक समुदायले प्राचीनकालदेखि धर्मग्रन्थको रुपमा स्वीकार गरेको रामायणले राजनीति र समाजव्यवस्थामा गर्ने दिशानिर्देशमा जिज्ञासु हुँदा आनन्द लाग्छ ।

दुई पात्र र दुई चरित्र

विद्यालय तहमा पढ्दै गर्दा भाइसाथीबीच झगडा हुन्थ्यो । कहिले कपर्दी खेल्दा, कहिले गुच्चा खेल्दा, कहिले भलिबल खेल्दा त कहिले रबरको झुप्पो खेल्दा । खेल्ने क्रममा जब कसैले झेली गथ्र्यो वा जानीजानी नियम बाहिर गएर बलजफ्ती गर्दथ्यो त्यो बेला धक्कामुक्का भइहाल्थ्यो । त्यस्तो बेला खेललाई झेल बनाउनेसँग निहुरीमुन्टी लाएर बस्नेलाई हामी ‘भुशुण्डा’ भन्थ्यौं । त्यो ‘भुशुण्डा’ शब्द चल्तीमा आएको रहेछ कागभुशुण्डी नामबाट । र, त्यो पात्र आदिरामायणसँग सम्बन्धित रहेछ ।

एकादेशमा, कागभुशुण्डी नामको पात्रलाई कालजयी हुने आशिर्वाद प्राप्त भएको रहेछ । अर्थात्, समयक्रममा भइरहेका घटनाको प्रत्यक्षदर्शी भइरहने । तर सही र गलत के हो त्यसको पक्ष वा विपक्षमा नबोल्ने । चुपचाप हेरिरहने । प्रतिक्रियाविहीन । उदेकलाग्दो चरित्र ! कागभुशुण्डीको दशा र नियतिबारे अर्को कुनै अंकमा छलफल गरौंला ।

अर्को पात्र जटायु । गिद्द (पंक्षी) का नायक । रामायणमा जटायु नामको बृद्ध, निर्बल पंक्षी पात्रको सन्दर्भ छ । रावण नामको दुष्ट चरित्र भएको पात्रले सीता नामकी स्त्री अपहरण गरेर लैजाँदै गर्दा जटायु र रावणको आमनेसामने हुन्छ । रावणलाई उक्त अन्यायी र अनैतिक कर्म गर्नबाट रोक्न जटायुले प्रयास गर्छ । रावण जस्तो बलशाली पात्रसँग जटायु हार्नु स्वभाविक छ । रावणले पखेटा काटिदिएपछि जटायु जमीनमा बजारिन्छ । सङ्घर्षमा रावणको कुकर्म वा अधर्मले जित्छ र जटायुको बिद्रोही चरित्र तत्कालका लागि हार्छ ।

हामीले लिन पर्ने शिक्षा भनेको जटायुले तत्कालका लागि पराजय ब्यहोरे पनि रावणको पनि अन्त्य कुनै दिन निश्चित छ भन्ने नै हो । जटायुका लागि रावणसँग युद्धको परिणामभन्दा अधर्म वा अन्यायसँगको सङ्घर्ष महत्वपूर्ण रह्यो । शिक्षा यही हो, राजनीतिबाट जटायुको चरित्र विलुप्त भएपछि रावणको चरित्र स्थायी हुन्छ । रावणलाई रामायणको पात्रै मान्दा पनि हामीले रावणविरुद्ध जटायुको चरित्र ग्रहण गर्नुपर्दछ भन्ने हो । रावणले अराजनीतिक काम गरे, अधर्म गरे त्यसका विरुद्ध जटायु बन्नु …। त्यसैले हरेक ब्यक्ति कुनै न कुनै रुपमा राजनीतिक हुनपर्छ भनिएको हो । दार्शनिक अरस्तुले भनेकै छन् ‘हरेक ब्यक्ति प्राकृतिक रुपमा राजनीतिक हुन्छ’ भनेर ।

इतिहासको अर्को एउटा प्रसङ्ग जोड्छुः

कुनैबेला ग्रीक साम्राज्यको दबदबा थियो । दुनियाँका कमजोर समाजलाई उपनिवेश बनाउनु र दासताको जञ्जीरले बाँध्नु उसको चरित्र थियो । उसको शक्तिका अगाडि धेरै बलशाली राज्यले घुँडा टेके र दासता स्वीकार गरे । तर मेलोन नामको यस्तो राज्य पनि थियो जो तुलनात्मक रुपमा ज्यादै कमजोर हुँदाहुँदै पनि एथेन्स (ग्रीक)सँग झुकेन । संघर्ष गर्यो । झुकेर अन्याय सहनुभन्दा मैदानमा संघर्ष गरेरै पराजित भयो । मेलोन नामको राज्य रामायणकालीन त्यो जटायु हो जसले अन्यायको विरुद्ध अन्तिमसम्म संघर्ष गर्यो ।

हाम्रो पुस्तालाई हामीले दिन पर्ने शिक्षा भनेको समाजका रावणहरुविरुद्ध संघर्ष गर्न कसरी जटायु बन्ने भन्ने नै हो । जटायु हुनुको अर्थ निःसन्देह राजनीतिक हुनु नै हो । जटायु हुनुको अर्थ आफूलाई त्रिलोकप्रतापी मान्ने र ठान्नेहरुविरुद्ध अन्तिमसम्म संघर्ष गर्नपर्दछ भन्ने नै हो । रावण विद्वान थिए भन्नुको अर्थ उनमा क्रुरता थिएन, घमण्ड थिएन, अहंकार थिएन भन्ने होइन । शाषकमा दम्भ, अहंकार बढ्दै जाँदा त्यसले रावण चरित्र हासिल गर्दछ । ऊ राजनीतिक चरित्रबाट निस्किएर गैरन्यायिक चरित्र प्रदर्शन गर्न थाल्दछ । न्यायको पुकारा सुन्दैन र अन्यायलाई हाकाहाकी प्रश्रय दिन्छ । ऊ थितिको मार्गबाट विचलित हुन्छ र बेथितिका बाहकलाई काखी च्यापेर आनन्दको कुम्भकर्ण निद्रामा निस्लोट सुत्छ । जटायु यही चरित्रविरुद्ध उभिने पात्र हो । रामायण पढ्नेले रामको महिमा र स्तुती गाउनुअघि जटायुको चरित्रलाई गहिरिएर बुझिदिनु पनि राजनीतिक हुनु हो ।

ब्राम्हण बर्गका श्रेष्ठ शिवभक्त रावणले धर्म छाड्दा के भयो ? वा, रावणको राजनीतिले धर्म छाड्दा के हुने रहेछ ? यो वा त्यो रुपमा कुनै राम आउने रहेछन् । अथवा, राजनीतिले धर्म छाड्दा पनि अधर्म हुन्छ र धर्मले धर्म छाड्दा पनि अधर्मै हुने रहेछ । त्यो बेला कागभुशुण्डी बनेर बस्ने कि जटायु बनेर निस्कने ? निर्णय आफैंले गर्ने हो ।

रामराज्य

शासन व्यवस्थामा उत्कृष्ट नैतिक र चारित्रिक अधिकारी बर्ग, न्याय र दण्डविधानमा अक्षुण्ण विश्वास, अर्थव्यवस्थामा नमागीकन कर दिने जनता र नमागिकनै जनताको अभाव समाधान गर्ने राज्य, गरिबले पनि आफ्नो कमाईमा पेटभर खान पाउने श्रम र बजारमूल्य, समाजमा कोही भोका नरहुन, बिरामी भए बैद्यले निशुल्क उपचार गरुन्, अधिकारभन्दा कर्तव्यशील समुदाय हुन्, सबै बालबालिकालाई समान र निशुल्क शिक्षा, विद्यार्थीको रुचीअनुसार शिक्षा र शिक्षकको निशुल्क व्यवस्था, घरसमाजमा कुटुम्ब ब्यवस्था…इत्यादि ।.आहा !

रामराज्य खासमा आदर्श राज्यको परिकल्पना हो । जुन समाज व्यवस्थित, शान्त, सभ्य, न्यायिक, समान र समृद्ध छ त्यही समाजलाई रामराज्यको नाम दिइन्छ । रामराज्यलाई धर्मको अंश वा पक्षपोषण होइन आदर्श राज्यव्यवस्थाको सपाट परिकल्पना वा राज्यको निर्देशक सिद्धान्तको रुपमा बुझे भैगयो ।

रामराज्यबारे महात्मा गान्धीले धेरै लेखेका बोलेका रहेछन् । गान्धीको शब्दमा ‘रामराज्यको अर्थ गरिबको सुरक्षा, जनमतको सम्मान र राज्यले सबै कार्यमा अपनाउनुपर्ने संगति हो (सत्याग्रह) ।’ गान्धी पनि जाती व्यवस्था रामराज्यका लागि घातक हुने मान्दथे । रामराज्य निर्माणका लागि जातीय विभाजन र जातका आधारमा हुने भेदभावलाई बाढीमा बगाउनुपर्ने ठान्दथे (सत्याग्रह १९२८) । आर्थिक असमानता रामराज्यका लागि ठूलो खतरा भन्दै गान्धी आर्थिक असमानता कायम राखेर कुनै समाजवादको जडमा नपुगिने दावी गर्दथे । गान्धी भन्थे– राज्यलाई शासक, जमिन्दार र पुँजीपतिहरुले चलाउने र राज्यले तिनीहरुको मात्र संरक्षण गरेर रामराज्यको मर्म लत्याए समयक्रममा उनीहरुको विनाश हुन्छ (१९४७) ।  

केही वर्षअघि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले रामायण र रामराज्यको सन्दर्भ निकालेर बेलायती राजनीतिकर्मीलाई असल सरकार र असल राजनीतिका रामायण पढ्न र रामायण सिक्न आग्रह गरेका थिए । राज्य, शासन, सरकार र राजनीतिलाई ‘नैतिक’ रामायण सन्दर्भग्रहन्थ हुने उनको ठम्याई थियो । उसो त संयुक्त राष्ट्रसंघको आठबुँदे असल शासनको कागज त्यही रामराज्यको मूलभुत सिद्धान्तबाट अलग छैन भन्न मलाई कत्ति असजिलो लाग्दैन ।

अन्त्यमा, तपाई कागभुशुण्डी बन्ने वा जटायु ? रामायण पढेर फगत भक्तिको ‘हनुमान’ मात्र बन्ने कि संघर्षको जटायु पनि ? कि सत्ताको विशाक्त गोलोको रक्षा हेतु भुनभुनाउने अरिंगाल मात्र बनिरहने ?

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार