समाचार

शक्तिशाली सरकारकै पालामा कमजोर अर्थतन्त्र

काठमाडौं । निकै आशालाग्दो गरी कामको शुरुवात गरेका विज्ञ अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकालको पहिलो पूर्ण बजेट कार्यान्वयन तथ्यांकीय हिसावमा असफल देखिएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको ११ महिनाको आंकडा अनुसार मुलुकको वित्तीय स्थिति खस्किएको अवस्थामा पाइएको छ।

आर्थिक सूचकहरु नेगेटिभ छन् । जेठ महिनामा मूल्य बृद्धि ६.२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष समिक्षा अवधिमा ४.१ प्रतिशत मात्र थियो । गत वैशाखमा भन्दा पनि जेठमा महंगी दर बढेको छ ।

व्यापार घाटाले आकास छोएको छ । ११ महिनामा १२ खर्ब ११ अर्ब व्यापार घाटा पुगिसकेकोछ । व्यापार घाटा अघिल्लो वर्ष यसै समयको अवधिभन्दा १७. २ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

यस अवधिमा नेपालबाट भने केवल ८७ अर्ब ८३ करोड रुपैयाँको देश बाहिर गएको छ । बाहिरबाट भने १२ खर्ब ९९ अर्बको सामान आयात भएको छ ।

११ महिना अवधिमा मुलुकको भुक्तानी सन्तुलन ९० अर्ब ८३ करोड ऋणात्मक छ। मुलुकमा आउने भन्दा बाहिरिने रकम झण्डै १ खर्ब बढी रहेको तथ्यांकले देखाएको छ।

विदेशी विदेशी विनिमय सञ्चिति घटेको छ । अहिलेको संचितिले ८. ८ महिनाको बस्तु आयात र ७. ७ महिनाको बस्तु तथा सेवा मात्र आयात धान्न सक्छ ।

सरकारको चालु खाताको घाटा नै २ खर्ब ४८ अर्ब पुगेको छ। वैदेशिक लगानी उल्लेख्य बढ्न सकेको छैन ।

रेमिट्यान्स बढ्नु बाहेक अर्थतन्त्रका सबै परिसूचक ओरालो लागेका छन् । यस अवस्थामा विज्ञ अर्थमन्त्रीको कार्यकाललाई धेरैले असफल सावित भएको भन्न थालिसकका छन् ।

किनकी उक्त आवको बजेट अर्थमन्त्री स्वयमःले ल्याएको हुन् । उनको नेतृत्वमा मुलुकमा ठूलो आर्थिक परिवर्तनको अपेक्षा जनताले गरेका थिए ।