अमेरिका

ट्रम्पको आप्रवासी नीति आज, कागजात विहिनलाई सम्बोधन नहुने

न्यूयोर्क
राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अपरान्ह आफ्नो आप्रवासी नीति सम्बन्धि योजना सार्वजनिक गर्दैछन् । ट्रम्पले अमेरिकाको वैधानिक आप्रवास सम्बन्धि वर्तमान स्वरुपमा ठूलो परिवर्तनको प्रस्ताव गर्ने अपेक्षा गरिएको छ ।

आज ह्वाइट हाउस स्थित रोज गार्डेनमा ट्रम्पले आफ्नो प्रस्ताव सार्वजनिक गर्नेछन् । तर, उक्त प्रस्तावमा अमेरिकामा रहेका एक करोड बढि कागजात विहिन आप्रवासीबारे भने केही उल्लेख नभएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । कागजात विहिनहरुको प्रतिको चर्को विरोध नै ट्रम्पको चुनाव जित्ने एक प्रमुख एजेण्डा थियो ।

नयाँ प्रस्तावमा ट्रम्पका ज्वाइँ एवं बरिष्ठ सल्लाहकार जरेड कुश्नरले महिनौँ देखि गृहकार्य गरि रहेका छन् । उनले प्रस्तावको मुख्य अंशबारे रिपब्लिकन सिनेटरहरुलाई मंगलबार ब्रिफ गरेका थिए । यो प्रस्तावले रिपब्लिकनहलाई एकताबद्ध गर्ने र नयाँ छलफल सुरु हुने विश्वास लिएको ह्वाइट हाउस सुत्रहरुले सञ्चार माध्यमलाई जानकारी गराएका छन् ।

‘तत्कालका लागि यो ट्रम्पको योजना हो, तर हामीलाई आशा छ यो रिपब्लिकन पार्टीको रणनीति बन्नेछ’ उनले भनेका छन् ।

सुत्रहरुका अनुसार प्रस्तावको मुख्य आधारको रुपमा क्षमता र सिपमा आधारित (मेरिट बेष्ड) आप्रवासी नीतिलाई लिइएको छ । यसमा असाइलम या पारिवारिक आधारमा दिने ग्रीनकार्डलाई कम गर्दै लगिनेछ । अमेरिकामा आउने वैधानिक आप्रवासीको संख्या घटबढ नगरि मापदण्ड मात्र फेर्न लागिएको सुत्रहरुको भनाइ छ । सीमा पर्खाल सम्पन्न गर्ने, कम ज्यालादरमा काम गर्नेहरुको आप्रवाह कम गर्ने, अमेरिकी नागरिकका पारिवारिक सदस्यलाई दिने ग्रीनकार्डमा पनि रोक लगाउने लगायतका प्रस्ताव गर्ने तयारीमा ट्रम्प रहेको जनाइएको छ ।