समाचार

बजेट सक्न तीब्र रकमान्तर

काठमाडौं । बजेट खर्चको आंकडा बडी देखाउन सरकारले आर्थिक वर्षको अन्त्यमा तीब्र रकमान्तर गरेको पाइएको छ ।

अर्थ मन्त्रालयद्धारा आइतबार सार्वजनिक तथ्यांक अनुसार सरकारले असार महिनामा मात्र १९ अर्ब ६१ करोड रुपैयाँ मात्र रकमान्तर भएको छ ।

बैशाखदेखि असार सम्मको तथ्यांक अनुसार ४० अर्ब २१ करोड रुपैयाँ रकमान्तर गरी एउटा कार्यक्रमको बजेट अर्कै कार्यक्रममा लगेर खर्च गरेको देखिन्छ ।

अर्थ मन्त्रालयका अधिकारीहरु यस प्रक्रियालाई सामान्य मान्छन्, तर सरकारले आफैले अनुमान गरेको कार्यक्रममा खर्च हुन नसक्ने बजेटलाई बजेट विनियोजनमा रहेको कमजोरीका रुपमा लिने गरिन्छ ।

सामान्यतया एक आयोजना र कार्यक्रममा छुट्याइएको बजेट त्यसमा खर्च हुन सकेन भने अर्को आयोजना कार्यक्रममा सारियो भने त्यो रकमलाई रकमान्तर भन्ने गरिन्छ ।

वित्तीय अनुशासनका हिसाबले पनि यसलाई असल अभ्यास मानिँदैन । सरकारले असार महिनामा १९ अर्ब ६१ करोड ८१ लाख १३ हजार ९ सय ७३ रुपैयाँ रकमान्तर गरेको छ ।

वैशाख र जेठमा क्रमशः १६ अर्ब ९४ करोड ९१ लाख २० हजार रुपैयाँ र ३ अर्ब ६३ करोड ९८ लाख ४३ हजार रुपैयाँ रकमान्तर भएको अर्थ मन्त्रालयको तथ्यांक रहेको छ ।

सरकारले सकेसम्म फागुनसम्म रकमान्तर नै नगर्ने र त्यसछि पनि औचित्यका आधारमा मात्र रकमान्तर गर्नु पर्ने नीति लिएको छ ।

तर, आफ्नै नीति विरुद्ध सरकारले ठूलो रकम रकमान्तर गरिरहेको छ ।