समाचार

थाइल्याण्डमा अलपत्र नेपाली विद्यार्थी घर फर्के

काठमाडौं । नेपालबाट तालीमका लागि थाइल्याण्ड पुगि अलपत्र परेका १० नेपाली विद्यार्थीलाई दूतावासको सहयोगमा नेपाल फर्काइएको छ ।

बैंककस्थित नेपाली दूतावासले उनीहरुको उद्धार गरी नेपाल फर्काएको सोमबार विज्ञप्ती जारी गर्दै बताएको छ ।

काठमाडों, बागबजारस्थित कीर्तिपुर अब्रोड स्टडिज नामक कन्सल्टेन्सीमार्फत उनीहरु थाइल्याण्ड पुगेको दूतावासले जनाएको छ ।

उनीहरु फूड एण्ड बेभरेज तालिमका लागि बैंककस्थिति इन्टरनेशनल होटेल एण्ड एयरलाइन्स बिजनेस स्कुलमा पुगेका थिए ।

नेपालमा भएको सम्झौता अनुसार तालीम र सुविधा नपाएपछि उनीहरु अलपत्र परी दूतावासको शरणमा पुगेका थिए ।

बैंककस्थिति नेपाली दूतावासले उद्दार गरी ती विद्यार्थीलाई नेपाल फर्काएको जानकारी दिएको छ । नेपालबाट विदेशी कम्पनी र विद्यालयबारे पर्याप्त जानकारी नलिई आउने विद्यार्थी अलपत्र पर्ने क्रम बढ्दो छ ।

दूतावासले कुनै पनि कन्सल्टेन्सीमार्फत विदेशमा उच्च शिक्षा तथा तालीमका लागि जाँदा विस्तृत जानकारी लिर्एर मात्र आउन नेपाली विद्यार्थीसमक्ष आग्रह समेत गरेको छ ।

दूतावासले आफू जाने सँस्थाले विद्यार्थी वा प्रशिक्षार्थी भर्नाको अनुमति लिए नलिएको, भौतिक पूर्वाधार भए नभएको थाहा पाएपछि मात्रै थप प्रकृया अघि बढाउन सचेत समेत बनाएको छ ।

होटेल क्षेत्रमा करीयर बनाउने धेरै विद्यार्थीका लागि थाइल्याण्ड आकर्षक गन्तब्य हो ।