कानुनी कुरा

प्रतिवन्धित नेटवर्किङ व्यवसाय अझै जारी, तीन पक्राउ

काठमाडौं । नेपालमा सरकारले नेटवर्किङ व्यवसायलाई प्रतिवन्ध गरेपनि विभिन्न रुपमा यसको अवेशष भने बाँकि रहेको पाइएको छ ।

प्रहरीले आइतबार चितवनबाट तीन जनालाई नेटवर्किङ व्यवसाय गरेको आरोपमा पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिकाका जहरमान घिसिङ, गोरखा पालुङटार नगरपालिकाका दलबहादुर गुरुङ र रुपन्देही बुटवल उपमहानगरपालिकाकी पार्वती केसी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

सुराकीले नेटवर्किङ सञ्चालन गरिरहेको सूचना दिएपछि उनीहरु पक्राउ परेको प्रहरीले बताएको छ ।

पक्राउ परेकालाई जिल्ला अदालतबाट सोमबार म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुले नेपालमा प्रतिवन्ध गरिएको बायनरी ह्यब्रिड नामको व्यवसाय चलाउँथे ।

पिरामिड शैलीको व्यापारका माध्यमबाट उनीहरुले अरु मानिसलाई सक्रिय पार्ने गरेको प्रहरीले उल्लेख गरेको छ ।

काठमाडौंमा एलटी एभरेष्ट हर्वल लाइफ ग्लोबल प्रालि नामको संस्था संचालन गरी चितवनसम्म पुगी सर्वसाधारण ठगेको सूचना प्रहरी समक्ष पुगेको बताइएको छ ।

सरकारले नेपालमा सबै प्रकारका नेटवर्किङ व्यवसाय प्रतिवन्ध गरेको छ ।