समाचार

विमानस्थलका सुरक्षाकर्मीलाई विदेशी भाषाको कक्षा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने सुरक्षाकर्मीलाई विदेशी भाषाको प्रशिक्षण दिन थालिएको छ ।

सुरक्षाकर्मीका लागि चाइनिज र फ्रेन्च भाषा सिकाउन कक्षा सञ्चालन विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका विमानस्थल प्रहरी, केन्द्रीय प्रहरी विशेष कार्यदल, डग शाखा, ट्राफिक प्रहरीलगायत यूनिटका प्रहरीलाई विदेशी भाषाको सामान्य ज्ञान दिन शुरु गरिएको कार्यालयको भनाई छ ।

सोमबार विमानस्थल कार्यालयमा एक कार्यक्रम आयोजित गरी कक्षाको शुभारम्भ गरियो ।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, अपराध अनुसन्धान शाखाका प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक सन्दिप भण्डारीले दुई दिने कक्षाको सोमबार शुभारम्भ गरे ।

प्रहरी कर्मचारीलाई चिनियाँ र फ्रेन्च भाषाको ज्ञान दिन थालिएको हो ।

करीव १ सय ८० प्रहरीले यो भाषा कक्षा लिनेछन् । नेपाल आउने विदेशी पर्यटकलाई पहिलो स्वागतमै आकर्षित गर्न उनीहरुको भाषा नै बोल्दा निकै राम्रो प्रभाव पर्छ ।

सोही कारण प्रहरीलाई त्यसतर्फ अभ्यस्त बनाउन थालिएको कार्यालयको भनाई छ ।