स्वास्थ्य

गुल्मीमा पहिरो, ११ को ज्यान गयो

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका, वडा नं.३ र ४ मा पहिरोमा परी ११ जनाको निधन भएको छ ।

दुई जना भने वेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार राती पहिरोले घर बगाउँदा ठूलो मानवीय क्षति भएको हो ।

प्रहरीले ११ जनाको निधन भएको बताएको छ । उक्त गाउँपालिकाको वडा नं ४ मा एकै परिवारका ९ जनाको निधन भएको आंशका गरिएको छ ।

वडा नं. ३ मा भने दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ठूलो लुम्पेककी ३२ वर्षीया तिलकुमारी तरामु र ८ वर्षीय दर्शन तरामु रहेको प्रहरीको भनाई छ । उनीहरु आमाछोरा हुन् ।

पहिरोमा परेर तीलकुमारीका छोरी १३ वर्षीया धनी र १० वर्षीया करिश्मा घाइते भएको प्रहरीको भनाई छ ।

पहिरोमा परेर सोही वडामा ४० वर्षीय माया बिक र १६ वर्षीय गबि बिक बेपत्ता भएको समेत प्रहरीले बताएको छ ।

एउटै गाउँमा ठूलो मानवीय क्षति भएपछि अहिले गाउँमा त्रास फैलिएको छ ।

जोखिममा रहेका अन्य घरबाट मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले बताएको छ ।

सोमबार बिहानै देखि परेको अविरल वर्षाले ठूलो जनधनको क्षति गरेको हो ।