कला / साहित्य

साहु

हाकुचाले मुग्लानमा आएर काम गरेको पनि एघार महिना भइसकेछ । एउटा घरको घरेलु नोकर हो ऊ । युरोप अमेरिकातिर भए हाउसम्यान, हाउसकिपर, हाउसमेड जस्ता मीठो अङ्ग्रेजी नाम पाउँथ्यो होला । यहाँ त कि गोर्खाली, कि बहादुर, कि भाइ, कि कान्छा भनेर चिनिन्छ ऊ

हाकुचाले मुग्लानमा आएर काम गरेको पनि एघार महिना भइसकेछ । एउटा घरको घरेलु नोकर हो ऊ । युरोप अमेरिकातिर भए हाउसम्यान, हाउसकिपर, हाउसमेड जस्ता मीठो अङ्ग्रेजी नाम पाउँथ्यो होला । यहाँ त कि गोर्खाली, कि बहादुर, कि भाइ, कि कान्छा भनेर चिनिन्छ ऊ । मान हो कि अपमान बुझ्न चाहँदैन । बिहान पाँच बजेबाट बेलुकी दश एघार नबजी काम कहिल्यै सकिँदैन । साहु–साहुनी, दुई छोरा र बुढा बाबु आमा । यी ६ जनालाई भनेजस्तै मीठो, राम्रो र सफा खाना खुवाउनु उसको खास दायित्व हो । अरू सरसफाइ, किनमेल, सिङ्गो घरको हेरचाह त छँदै छ ।
बुढाबुढी खान हुने र नरम जे बनाएर दिए पनि चुप लागेर खाने बस्ने टिभी हेर्ने सज्जन छन् । बच्चा बच्चा नै भइहाले कहिले टेर्छन्, कहिले टेर्दैनन् । तैपनि ठीकै छ । साहु र साहुनी भने जति मीठो खाना बनाए पनि, जति राम्रो काम गरे पनि कहिल्यै जस दिँदै दिँदैनन् । खाली दोषै मात्र दिन्छन् । आजित भएर कि घरै फर्कने कि वारपार गर्ने विचारले हाकुचाले यो हप्ताभरि मीठा–मीठा स्वस्थ खाना फरक–फरक तरिकाले पकाउने र परीक्षा लिने निर्णय ग¥यो । आइतबार चपाटी, हलुवा, खीर, तरकारी, अचार पस्कँदै ‘आज कस्तो लाग्यो ?’ भनेर सोध्यो । साहु– ‘सब्जी अच्छेसे क्यु ना धोया ? फिर क्युँ गलाया ?’ साहुनी– ‘मिर्च क्युँ ज्यादा डाल्दिया ? फिर क्युँ कच्चा बनाया ?’
सोमबार भेजबिरयानी मटन नानाथरी तरकारी अचार बनाइ पस्केर सोध्यो ‘खाना कस्तो छ ?’ साहु– ‘कुछ भी अच्छे नही बनाया, टेस्ट भी अच्छा नही आया ।’ साहुनी– ‘हाँ तुमने सब गन्धा पकाया, मेरी तो सारे भमिट आने लगी ।’ मंगलबार साम्बर, छोला, डोसा इडली साग अचार बनायो । कस्तो छ ? साहु– ‘क्या कुत्तेका जैसा खाना बनाया ? मुह मै डाल्नेका मन ही नही लगता ।’ साहुनी– ‘तुमने कभी मीठा खाना नही खिलाया, तुमका वापस ही भेजना पडेगा ।’ यसैगरी हप्तैभरि जाने जति सीपले खाना बनायो तर दोषैदोष मात्र सुन्नु प¥यो । यसपश्चात् उसलाई हदैसम्म रिस उठ्यो । टाउको पनि धेरै नै दुख्यो । तैपनि चुपचाप खाना बनाउनुको तत्काल विकल्प थिएन । के बनाउँ बनाउँ भयो । सोच्यो…
‘ल आज पूरा नेपाली जस्तै दाल, भात, तरकारी, अचार, दूध, दही, घिउ खुवाउँछु ।’
मिल्ने भए विषै मिसाएर पकाइदिने विचार मनमा आयो । हैट, डरायो । पाप गर्नु जस्तै पाप सोच्नु पनि पाप हो । भात राम्ररी चलाउन बिर्सेछ । आधा काँचो आधा पाकेको जस्तो भएछ । दाल पकाउँदा पकाउँदा डढेर कालै भएछ । तरकारीमा जानाजान तीनफेर नुन, दुई फेर खुर्सानी हाल्दियो । अचारमा भएभरको मिर्च र सागमा आधा किलो अदरक डाल्दियो । चुपचाप न हाँसेको, न रिसाएको, न डराएको अभिनय गर्दै खाना टेबुलमा सजायो । केही सोधेन । साहु आफै बोल्यो, ‘हाँ अच्छा खाना बनाया तुमने आज । इससे पेहेले हमने इतनी स्वादिष्ट कभी नही खाया था ।’ साहुनी तत्काल त केही बोलिन । दुई घण्टापछि बाथरूमबाट निस्कँदै भनी, ‘हाँ भैया सुनोतो, तुमने आज अच्छा खाना बनाया । कितनी दिन से मेरा पेट भारी था । आज पूरा खलास हो गया । अच्छी से साफ हो गई । तुम घर फिर्ने से कभी ना सोचो, आने महिने से तनखा भी पाँच सो बढादुंगी ।’ मनमनै सोच्यो । स्वाद आफ्नो आफ्नो । भैंसीलाई मोमो भन्दा घाँसै प्यारो । अब हाकुचाले लंगडाको देशमा खुट्टा खोच्याएर हिँड्नु पर्ने पाठ सिकिसकेको छ ।
जीवन गुजार्ने नयाँ आइडिया पाएर हाकुचा तीन छक्क खायो ।