समाचार

नेपाललाई थप बलियो र सम्पन्न बनाउन अमेरिका तयार छ : अमेरिकी दूतावास

विश्व न्युज संवाददाता
काठमाडौं
नेपालमा रहेको अमेरिकी दूतावासले नेपालका विभिन्न क्षेत्रमा काम गरिरहेको छ । सामाजिक, आर्थिक, सांस्कृतिक तथा पुरातात्विक क्षेत्रमा अमेरिकाले विभिन्न प्रकारका कार्यक्रम सञ्चालन गरिरहेको छ । नेपालको शिक्षा क्षेत्रको विकासका लागि पनि अमेरिकाले आफ्ना विभिन्न निकायको समन्वयमा कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
काठमाडौं उपत्यका र विभिन्न जिल्लाका विद्यालय भवन लगायत भौतिक पूर्वाधारका क्षेत्रमा अमेरिकी निकायले काम गरिरहेका छन् । काठमाडौं उपत्यकाका विभिन्न पुरातात्विक महत्वका क्षेत्रको संरक्षणमा पनि उत्तिकै योगदान रहेको छ । भूकम्पपछिको पुनर्निमाणमा पनि अमेरिकी सरकारले आफ्ना निकायमार्फत नेपाल सरकार र नेपाली नागरिकलाई सहयोग गर्दै आइरहेको छ । अमेरिकाले सडक निर्माण लगायत भौतिक विकासका विभिन्न पक्षमा समेत काम गरिरहेको छ ।
इन्डोप्यासेफिक रणनीतिमार्फत नेपाललाई अमेरिकाले विभिन्न सहयोगको घोषणा गरेको छ । यद्यपी नेपाल सरकारले आफू त्यो रणनीतिमा समावेश नभएको औपचारिक प्रतिक्रिया दिने गरेको छ । चीन र भारतको चासोका कारण नेपालले खुलेर अमेरिकी रणनीतिको क्षेत्रमा सहयोग गर्न नसकेको विज्ञहरुले बताएका छन् । तर, नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकाको औपचारिक भ्रमणका बेला उक्त रणनीतिमा नेपाल समावेश हुने कुराको प्रत्याभूती दिलाएका थिए ।

नेपाललाई बलियो बनाउन चाहन्छौँ

नेपालमा रहेको अमेरिकी दूतावासले गएको शुक्रबार काठमाडौंमा एक औपचारिक कार्यक्रम आयोजना ग¥यो । नेपाल युएस आइमुन नेटवर्क नुसानको समन्वयमा आयोजना गरिएको कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी डब्ल्यू बेरीले आफ्नो देशले नेपाललाई थप बलियो र सम्पन्न बनाउन खोजेको बताएका छन् । उनले भने, ‘हामी हिन्दप्रशान्त रणनीतिमार्फत नेपाललाई थप बलियो र सम्पन्न बनाउन चाहन्छौँ । हिन्द प्रशान्त रणनीतिमार्फत खुला र नियममा आधारित स्वतन्त्र हिन्त प्रशान्त महासागर प्रवद्र्धन गर्न खोजिएको हो । यो कसैको विरोधमा होइन ।’
अमेरिकी राजदूत बेरीले नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध सुदृढ हुँदै आएको बताए । कूटनीतिक सम्बन्ध स्थापनादेखि अहिलेसम्म सरकारी तथा जनस्तरमा नेपाल र अमेरिकाबीच राम्रो सम्बन्ध रहिआएको उनको भनाइ छ । कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको विकासमा अमेरिका हरेक पक्षमा सँगसँगै रहेको बताए । नेपालमा सञ्चालित विभिन्न परियोजनाले नेपालको विकास र प्रगतिमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।
नेपाललाई मिलेनियम च्यालेन्ज कोअपरेसन अन्तर्गत दिएको ६३ करोड अमेरिकी डलरको पाँच वर्षीय परियोजनाले नेपालको सामाजिक–आर्थिक विकासले फड्को मार्ने राजदूत बेरीको विश्वास छ । यो रकम भौतिक पूर्वाधार अन्तर्गत सडक, विद्युतको प्रशारण लाइन लगायतका क्षेत्रमा खर्च हुनेछ । त्यति मात्र होइन अमेरिकाले २० करोड अमेरिकी डलरको अनुदान परियोजना अन्तर्गत हरेक वर्ष खर्च गर्दै आएको छ । उनले २० करोड अमेरिकी डलरको वार्षिक अनुदानबाट सञ्चालित विभिन्न परियोजनाले नेपालको कला संस्कृति संरक्षण तथा पूर्वाधार विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताएका छन् ।

कूटनीतिक क्षेत्रमा संयम आवश्यक

नेपालमा क्रियाशील विज्ञहरुले कार्यक्रममार्फत नेपालले कूटनीतिक क्षेत्रमा संयमताका साथ अगाडि बढ्नु पर्ने सुझाव दिएका छन् । कार्यक्रममा सहभागी भएका नेपालका परराष्ट्र मामिलाका जानकारहरुले नेपालले कूटनीतिक क्षेत्रमा फाइदा लिनेगरी प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा अन्तर्राष्ट्रिय मामिलाका जानकार श्रीधर खत्री र परराष्ट्र विज्ञ डा. निश्चलनाथ पाण्डेले आफ्ना धारणा राखेका थिए ।
अन्तर्राष्ट्रिय मामिलाका जानकार खत्रीले नेपालले चिनियाँ बिआरआई, अमेरिकाको हिन्द प्रशान्त रणनीति र भारतको बिमस्टेकबाट कनेक्टिभिटी कूटनीति अपनाएर फाइदा लिनुपर्नेमा जोड दिएका छन् । उनले नेपालले आफ्नो भूराजनीतिक अवस्थितिको बढी मूल्याङ्कन गरेको बताए । उनले भने, ‘अमेरिका र चीनको सम्बन्ध तथा व्यापारिक सम्झौताको असर नेपाललाई पनि पर्छ । नेपालले आफ्नो दीर्घकालीन हितका सिद्धान्तअनुसार सबैसँगको सम्बन्ध विकसित र राम्रो बनाउँदै लैजानु पर्छ ।’
परराष्ट्र मामिलाका विज्ञ डा. पाण्डेले दक्षिण पूर्वी एसियाली देहरुको संगठन आसियान क्षेत्रीय सहकार्यको नमूना भएको तर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क निष्क्रिय हुँदै गएको बताए । उनले नयाँ विकल्पको रुपमा नेपालले सोच्नु पर्ने बेला आएकोमा जोड दिए । उनले भने, ‘भारत र पाकिस्तानको चिसिएको सम्बन्धका कारण सार्क देशबीच सहकार्य खुम्चिदै गएको छ । भारत र चीनबीच बढ्दो सहकार्यलाई नेपालले अनुकुलताका आधारमा हेर्नु पर्छ ।’
भारत र चीनबीचको सम्बन्धबाट फाइदा लिनुपर्नेमा नेपालले त्यसो गर्न नसकेको उनले बताए । उनले अमेरिकी सहयोगलाई नेपालको आन्तरिक विकासमा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् । भारत र चीनबीच नेपालको बाटो भएर १० प्रतिशत मात्र व्यवसाय गर्न सकिएको खण्डमा नेपालको आर्थिक पक्ष निकै फरक हुनेमा उनले जोड दिएका छन् ।
परराष्ट्र मामिलाका जानकारहरुले नेपालले कुटनीतिक क्षेत्रमा आफ्नो देशलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा त्यसो हुन नसकेको बताएका छन् । सार्क वा बिआरआई वा इण्डोप्यासिफिक रणनीति वा बिमस्टेक लगायतका विभिन्न क्षेत्रबाट आफ्नो देशलाई फाइदा पुग्नेगरी काम गर्नुपर्नेमा विज्ञको जोड छ । नेपालले आफ्नो सिद्धान्तलाई व्यवहारमा मात्र उतारेमा सामाजिक आर्थिक हिसाबले नेपाल फरक स्थानमा रहन सक्ने छ । कार्यक्रममा उपस्थित सबैले नेपालको विकासमा अमेरिकी सरकारको तर्फबाट भएको सहयोगको प्रशंसा व्यक्त गरेका थिए ।

कार्यक्रममा के भयो ?
नेपालमा सन् २०१९ को आइमुन संकल्प, प्रेरणा, मित्रता सञ्जाल तथा २० भन्दा धेरै देशबाट आएका कुटनीतिक क्षेत्रका विज्ञ र युवा नेतृत्वकर्ताले नयाँ कामको योजनासहित कार्यक्रम सम्पन्न भएको अमेरिकी दूतावासले जनाएको छ । आईतवारसम्म चलेको कार्यक्रम इन्डोप्यासिफक क्षेत्रका मुद्दाहरुमा केन्द्रित थियो । विभिन्न देशका झण्डै २ सय प्रतिनिधिहरुबीच सम्बन्ध विस्तार र मनोरञ्जन समेत भएको दूतावासले जनाएको छ । अमेरिकी दूतावासले कार्यक्रम सफल पार्नमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएको छ । अमेरिकी सरकारले यस्तो रणनीतिक सम्मेलन अर्को वर्षसमेत गर्ने जनाएको छ ।
आइमुन हिन्द तथा प्रशान्त क्षेत्रका विभिन्न विषयमा छलफल हुने कार्यक्रम हो । तर आफ्नो वरपर विभिन्न सांस्कृतिक विविधताहरु दर्शाउने अवसरका रुपमा समेत यसलाई लिनुपर्नेमा अमेरिकी सरकारको जोड रहेको छ । ग्लोबल भिलेजमा आआफ्ना देशका विभिन्न संस्कृति र परम्परागत विषय प्रदर्शन गरे । नेपालको तर्फबाट उत्कृष्ट सांस्कृतिक झल्को दिने गीत तथा नृत्य प्रस्तुत भएको थियो । कार्यक्रममा सहभागीले यसलाई निकै महत्वका साथ लिएका नेपाली सहभागिले बताएका छन् ।
आइमुन २०१९ मा यस पटक इण्डो प्यासिफिक क्षेत्रका अन्तर्राष्ट्रिय सुरक्षा, मानव अधिकारको अवस्था, आर्थिक समृद्धि, लैगिंक समानता लगायतका विभिन्न पक्षमा समूहगत छलफल भएको छ । कार्यक्रममा सहभागीलाई ५ वटा समिति बनाएर सम्बन्धित विषयका विज्ञहरुको प्रस्तुतीकणसमेत राखेर छलफल गरियो ।
युएनआरसीपीडीका निर्देशक युरी किभोनस्, अन्तर्राष्ट्रिय आप्रवासन संगठनका चिफ अफ मिसन पल नर्टन, विश्व खाद्य कार्यक्रममा सेल्विन हेटन र संयुक्त राष्ट्रसंघ वुमनका कार्यक्रम विज्ञ मियो योकोता लगायतले सहजीकरण गरेका थिए । नेपालका विभिन्न क्षेत्रका विज्ञले समेत कार्यक्रममा आफ्ना धारणा राखे । उनीहरुले क्षेत्रीय विकास मात्र होइन एकअर्काका चासोका विषयको पहिचान तथा सहकार्यमा जोड दिएका छन् ।
अमेरिकी सरकारको महत्वपूर्ण परियोजनाका रुपमा रहेको इण्डोप्यासिफिक परियोजनाबाट लाभ लिने र अमेरिकी रणनीतिलाई सहयोग गर्ने अधिकांश देशका प्रतिनिधि कार्यक्रममा उपस्थित भएका थिए । यो कार्यक्रमलाई सहयोग आदान प्रदानको अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको थियो । यो कार्यक्रमले एकअर्का देशबीचको सामाजिक, आर्थिक र सांस्कृतिक पक्षको पहिचान तथा विकासमा महत्वपूर्ण सहयोग गर्ने अमेरिकी विश्वास रहेको छ ।