स्वास्थ्य

रोकिएन बाढी-पहिरोको कहर, लमजुङमा ठूलो क्षति

प्रतिकात्मक तस्वीर

काठमाडौं । लमजुङमा निर्माणधिन जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरु बाढीमा परेका छन् ।

बाढीका कारण ४ जनाको निधन भइसकेको र दर्जनभन्दा बढी मजदुर वेपत्ता रहेको लमजुङ प्रहरीले जानकारी दिएको छ ।

यद्दपी खोजी कार्य जारी रहेकाले क्षतिको यकिन विवरण प्राप्त नभएको प्रहरीको भनाई छ ।

लमजुङको दोर्दी खोलामा आएको बाढीमा परी ४ जनाको मृत्यु भएको हो । उनीहरु अपर दोर्दी ए पावर हाउस निर्माणमा काम गरिरहेका मजदूर रहेको प्रहरीको भनाई छ ।

यो आयोजना लिबर्टी इनर्जी प्रालिले बनाइरहेको छ । यो आयोजना अब निर्माणको अन्तिम चरणमा रहेको थियो ।

घटनास्थलमा सुरक्षाकर्मी पुगिसकेको र उद्दार र खोजी कार्य शुरु भइसकेको प्रहरीको भनाई छ । तर, रात परिसकेका कारण उद्दार र खोजीमा भने कठिनाई उत्पन्न भएको छ ।

उता, धनकुटा नगरपालिका ८ डाँडाटोलका ३ जना बालबालिका तमोर नदीले बगाएर बेपत्ता भएको धनकुटा प्रहरीले जानकारी दिएको छ ।

शंखबहादुर राईको परिवार आफ्नै खेतमा काम गरिरहेको बेलामा उनका ९ वर्षीय छोरा संदिप राई, ७ वर्षीया छोरी सलिना राई र ६ वर्षीया संजिला राईलाई तमोर नदीले बगाएको थियो ।

दुई दिन अगाडी भएको यस घटनामा वेपत्ता बालबालिका अझै फेला नपरेको प्रहरीले बताएको छ ।

गुल्मीमा भिषण पहिरोमा परी करीव एक दर्जनले ज्यान गुमाएको २४ घण्टा नाघिसकेपनि सडकहरु नखुल्दा उद्दार र राहत पुर्याउन कठिन भएको छ ।

सडकहरु वर्षापछि भत्किएका र त्यसले राहत सामग्री बोकेका सवारी साधन समयमै पुग्न नसक्दा पहिरोले विस्थापित भएका नागरिकको विचल्ली भएको हो ।

पर्सामा बाढीले १ सय ५० भन्दा बढी घर डुबाएको छ । यहाँ मानवीय क्षति भने नभएको बताइएको छ ।

रुपन्देहीमा पनि बाढीले केही क्षेत्र डुबानमा पारेको छ ।

यसैबीच सांसदहरुले एक दिनको तलव बाढी पिडित नागरिकको राहतका लागि दिने निर्णय गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकले बाढी तथा पहिरो पीडितहरुको उद्दार, राहत तथा पुनर्स्थापनामा कुनै कमी हुन नदिन सरकारलाई आग्रह गर्दै विशेष प्रस्ताव समेत पास गरेको छ ।