कला / साहित्य

यात्रा कवि र कविताको

पीपलमणि सिग्देल
न्यूयोर्क

संस्कृतमा कवृवर्णने कुङ शब्दे धातुबाट कवि शब्द बन्दछ । कविता र काव्य एकै मूलबाट व्यूत्पन्न शब्द हो । काव्यलाई श्रव्य र दृश्य अनि श्रव्य काव्यभित्र गद्य र पद्य गरी विभाजन गरिएको छ । रस र भावको विमर्श गर्ने व्यक्ति नै कवि हो । कवितालाई साहित्यको पुरानो विधा मानिन्छ । मानव सभ्यताको विकासको दौरानमा जब भाषाको विकास भयो तब लोकगीत र लोकगाथा हुँदै कविताको पनि विकास भएको मानिन्छ । मानवका सुख, दुःख, माया र अस्तित्वको भावना भाषामा व्यक्त हुन थालेपछि कविताले पनि स्वरुप लिन थालेको पाइन्छ । सामान्यतः कविता भाषाको रागात्मक वा लयात्मक प्रस्तुति हो । मानव जीवनको भोगाइ र अनुभूतिलाई भाषामा लेखिन थालेपछि कविताको स्वरुपमा पनि विकास हुन थालेको हो ।
विश्व भाषा र साहित्यलाई पूर्वीय र पाश्चात्य गरी दुई भागमा विभाजन गरिन्छ । पूर्वीय कविताको उद्गम स्रोत ऋग्वेद हो । ऋग्वेद पनि वेदव्यासले संहिताको रुपमा तयार गर्नुभन्दा पहिले लोकगाथाको रुपमा थियो । वैदिक वाङ्ममय सबैभन्दा पुरानो हो । जुन भन्नाले वेद, ब्राह्मण, आरण्यक र उपनिषद् बुझिन्छ । ऋग्वेद चारै वेदको मूल स्रोत हो अनि काव्यात्मक साहित्यको अभिव्यक्ति पनि । वेद चतुष्टयमा ऋग्वेद आदिम कृति हो । ऋग्वेदलाई ‘पश्य देवश्य काव्यम्’ अर्थात् प्रकृतिको काव्य पनि भन्ने गरिन्छ । वैदिक साहित्यको प्रभाव उपनिषद्, संरहिता तथा पुराणहरूमा परेको देखिन्छ । उषः सूक्त, नासदीय सूक्त तथा पृथ्वी सूक्तहरूमा पनि कवितात्मक व्यञ्जना र काव्यमूल्य भेट्न सकिन्छ । वैदिक साहित्यपछि लौकिक साहित्यको क्रम आउँछ । लौकिक साहित्यको महत्वपूर्ण काव्य रामायण नै हो । संस्कृत वाङ्मयमा लौकिक साहित्यको प्रयोग र सिर्जनाका दृष्टिले महर्षि वाल्मि कीआदिकवि हुन् । र रामायण आदि काव्य हो । कवित्वको दृष्टिले महाभारतभन्दा रामायण बेजोड मानिन्छ । रामायणपछि अर्को युगको प्रतिनिधित्व महाभारतले गर्दछ । महाभारतमा कवित्व कम तथा आख्यान ज्यादा पाइन्छ । महाभारत संस्कृत साहित्यको त्यस्तो कृति हो जसभित्र वीरगाथा, राजनीति, धर्म, ज्ञान, भक्ति, आचार, आदर्श दर्शन, कला, ज्यौतिष, भूगोल, इतिहास, मनोविज्ञान, सामाजिक स्थिति, चौसट्ठी कला, षड्यन्त्र, जालझेल इत्यादि सबै मानवीय पक्ष समेटिएका छन् । महाभारतमा एक लाख श्लोक छन् । रामायण र महाभारतपछि रघुवंश, कुमारसंभव आदि ग्रन्थ आउँछन् । अश्वघोष, कालीदास, भारवी, भट्टी, माघ, श्रीहर्ष लगायतका कविहरूको कलमबाट संस्कृत साहित्य मौलाएको पाइन्छ । रचनाको क्रमसँगै समालोचनाको पनि जन्म हुन्छ । भरतमुनिको नाट्यशास्त्रपछि ईशाको छैठौं शताब्दीका भामह अनि पछि दण्डी, भट्ट, वामन, रुद्रट, आनन्दवर्धन, अभिनवगुप्त, राजशेखर, कुन्तक, मम्मट, विश्वनाथ, जगन्नाथ हुँदै सत्रौं शताब्दीसम्म रचना र समालोचनाको परम्परा विकास भएको हो ।
पाश्चात्य साहित्यका पनि पद्यात्मक श्रव्य विधालाई कविता मानेको पाइन्छ । त्यहाँका आदिकवि होमरका कृति उलियड र ओडिसीलाई पनि लयात्मक लोक गाथाका नै स्वरुप मानिन्छ । अतः पाश्चात्य साहित्यको उद्गम स्रोत पनि लोकसाहित्य नै रहेको पुष्टि हुन्छ । त्यसैगरी शेली, प्लेटो, अरिस्टोटल, किट्स, वाइरन, इलियटजस्ता प्रतिभाले कविताको यात्रालाई हाँकेको देखिन्छ । पूर्वमा जस्तै पाश्चात्य साहित्यमा पनि एरिस्टोटल, हेसियड, सोलोन, पिण्डार, युरिपाइडिस, अरिस्टोफेनस जस्ता समालोचकहरूले कविता सिद्धान्तको निरुपण गरेको पाइन्छ ।
विक्रमको एघारौं शताब्दीबाट विकसित हुन थालेको नेपाली भाषा धेरैपछि मात्र साहित्यको फाँटमा प्रवेश गरेको देखिन्छ । नेपाली साहित्यमा कविताको लेखन उन्नाइसौं शताब्दीमा भएको प्रतीत हुन्छ । सुवानन्द दास, भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौड्याल, बालकृष्ण सम लगायतका प्रतिभाले कविताको सिर्जना गरी नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याए । यसरी पूर्वीय र पाश्चात्य साहित्यमा कविता नै जेठो विधा भएको प्रमाणित हुन्छ । पूर्वीय र पाश्चात्य साहित्यमा रुपवादी र भाववादी हाँगा स्पष्टसँग देखिन्छ । वास्तवमा कविताको संरचना पक्ष र भाव पक्षको संयोजनमा ध्यान दिँदा उपयुक्त हुन्छ ।
कविता प्रतिभा, व्यूत्पत्ति र अभ्यासको समग्र परिणाम हो । कविताको स्वरुप अत्यन्त वैयक्तिक हुन्छ । व्यक्तिगत भाव र विचारको प्रस्तुति कवितामा हुने भएकाले कवितालाई एउटै नामले चिनाउन कठिन हुन्छ । सिर्जनापछि समालोचनाको जन्म हुन्छ अर्थात् जन्मपछि नामकरण हुन्छ ।
शुक्ल यजुर्वेदमा मनीषी, परिभूः र स्वयम्भू भनेर कविको परिचय दिइएको पाइन्छ । त्यसैगरी वैदिक साहित्यमा भने ‘कवि’, ‘द्रष्टा’ र ‘ऋषि’लाई समानार्थीको रुपमा मानिएको पाइन्छ । संस्कृतको कोशले पनि कान्तादर्शी, मनीषी, विद्वान् आदि शब्दलाई पर्यायवाची मानेको छ । आचार्य आनन्दवर्धनले पनि कविलाई अपार काव्यसंसारको प्रजापतिका रुपमा चिनाएका छन् । यसरी हेर्दा कविको कर्म नै कविता हो भन्ने बुझिन्छ । संस्कृत साहित्यमा छन्दोबद्ध पदयोजनालाई पद्य भनिएको पाइन्छ । कविता, कोमल र सुन्दर पदविन्यास, गूढ शब्दार्थले हीन, सुबोध, नृत्यका लागि उपयुक्त र रसनिष्पत्तिका लागि गुण र सन्धियुक्त हुनुपर्छ ।
ईशाका प्रथम शताब्दीका मानिएका भरतले मूलतः नाटकको चर्चा गरेता पनि कविताको पनि परिचय दिए । भरतको मान्यतापछि कविताको परिभाषा गर्ने आचार्य भामह हुन् । भामहले ‘शब्दार्थौ सहितौ काव्यम् भनेर शब्द र अर्थको सहभाव नै कविता हो भने । यसरी शब्द र अर्थको सीमामा कविता बाँधेपछि अर्का आचार्यले आफ्नो मत प्रस्तुत गर्ने क्रममा दण्डी अभीष्ट अर्थले व्यवच्छिन्न पदावलीलाई कविता हो भन्दछन् । यसपछि वामन भने काव्यको आत्मा रीति हो भन्न पुग्छन् । आचार्य कुन्तक वक्रोक्तिवादको पक्षमा लाग्छन् । त्यसैगरी आचार्य आनन्दवर्धन काव्यको आत्मा ध्वनि हो भन्दछन् । उनको मतमा शब्दार्थ शरीर हो भने काव्यको आत्मा भने ध्वनि नै हो । आचार्य भोजराज दोषरहित, गुणसहित, अलङ्कारले अलङ्कृत रचना नै काव्य हो भनेका छन् । त्यसैगरी आचार्य मम्मटको विचारमा दोषरहित, गुणसहित रचना नै काव्य हो जहाँ अलङ्कार भए पनि हुन्छ नभए पनि हुन्छ भन्दछन् ।
ईशाको प्रथम शताब्दीमा भरतले चर्चा गरेपछि छैटौं शताब्दीमा भामहले थालेको परिभाषाको क्रम सत्रौं शताब्दीका जगन्नाथसम्म आइपुग्छ । यसबीचमा कसैले शब्द र अर्थलाई काव्य माने भने कसैले ध्वनिलाई त कसैले रीतिलाई काव्यको आत्मा माने । कसैले रसको प्रधानता आवश्यक ठाने भने कसैले दोषरहित, गुणसहित, अलङ्कारयुक्त रचना नै काव्य हुने विचार व्यक्त गरे । यसरी सबै आचार्यको विचार हेर्दा पनि सुललित शब्दार्थ, अलङ्कारयुक्त, दोषरहित, गुणसहित, रस, ध्वनि, रीति र वक्रोक्तियुक्त तथा अभीष्ट अर्थ दिने कविको रचना नै कविता वा काव्य हो भन्न सकिन्छ । कविताको रचना भएपछि त्यसैको आस्वादन गरेर नयाँ सिद्धान्त र परिभाषाको जन्म हुन्छ । अतः संस्कृतमा पनि रामायण, महाभारत, रघुवंश, कुमारसंभव आदि रचनाको अध्ययनले नै परिभाषा जन्माएको हो । साहित्यको अपार निधिका रुपमा रहेको संस्कृतको अनुशासित काव्य परम्परा तथा विचार र चिन्तनले परिभाषालाई सुनिश्चित एवम् व्यवस्थित गर्न सहयोग पुगेको भने पक्कै हो ।
पाश्चात्य साहित्यका आदिकवि होमर हुन् । उनको समय ईपू ८ सयदेखि १५ सयसम्म मानिन्छ । उनका इलियड र ओडिसी महाकाव्य नै अङ्ग्रेजी साहित्यको प्रस्थानबिन्दु हो । यसरी होमरबाट थालनी भएको महाकाव्य परम्पराको सिद्धान्तको निरुपण या काव्य परिभाषाको आरम्भ भने ईपू ४ शताब्दीका अरस्तुबाट भएको हो । कविको आन्तरिक प्रतिभालाई पूर्वीय साहित्यका विद्वान्हरूले मुख्य काव्यहेतु स्वीकार गरे जस्तै होमरले पनि जादुमय शाश्वत एवं दिव्य अन्तरप्रेरणालाई मूल काव्यहेतु मान्दै कवितालाई आल्हादमय, अनुकरणात्मक तत्वका रुपमा स्वीकार गरेको देखिन्छ । त्यसैगरी होडियसले दैवी वरदानको प्रतिभा स्फुरण हुनु नै कविता हो भने । त्यसैगरी युरिपाइडिजले पनि आल्हाद र आनन्दको सिर्जना नै कविता हो भने । अरिस्टोफेनस कलात्मक, कुशलता र नैतिक निर्देशलाई कलाको मापदण्ड मान्छन् । सोक्रेटस कविता अश्वस्थ हुने बताउँछन् । प्लेटोले भने साहित्य सत्यको पक्षमा हुनुपर्ने बताएका छन् । साहित्य सत्यभन्दा दुई गुना टाढा हुन्छ भन्ने आरोप लगाउने प्लेटो भाषाको माध्यमबाट प्रकृति वा जीवनजगतका काल्पनिक र वस्तुपरक पुनः सृजन नै साहित्य वा काव्य हो भन्दछन् ।
पूर्वीय एवम् पाश्चात्य साहित्यको प्रभावका रुपमा नेपाली साहित्यको विकास हुँदै आएको छ । ११ औं शताब्दीबाट नेपाली भाषाको विकास प्रारम्भ भएता पनि साहित्यिक स्वरुप भने उन्नाईसौं शताब्दीको पूर्वाद्र्धमा मात्र तयार भएको हो । नेपाली साहित्यमा प्रथम कविता सुवानन्द दास (विस १८२६)ले लेखेका हुन् । यसपछि भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरे, मोहन कोइराला जस्ता कविहरूले नेपाली कविताको रथ हाँकेका छन् । कवि माधवप्रसाद घिमिरेले शब्द र संगीत, अर्थ र अभिप्राय तदाकार भएर जो अनौठो अनुभूति हुन्छ त्यही नै कविता हो भनेका छन् । केदारमान व्यथितले तीव्रगामी कल्पनाको घोडामाथि अनुभूतिको काँटी कसी विचारको लगाम पक्रेर भावुकता चढेको नै कविता हो भने । समालोचक डा. वासुदेव त्रिपाठीले मानव मनका अनुभूतिहरूको लयात्मक, भाषिक कलात्मक कथन नै कविता हो भनेका छन् ।