समाचार

ओढारमा भेटियो १६ किलो सुन

काठमाडौं । पानी परेका बेला ओत लाग्ने ओढार, सामान्यतया ओडार बाघ र चितुवाको बासस्थान पनि मानिन्छन् ।

बढ्दो जनसंंख्याका कारण बाघ र चितुवा त क्रमशः लोप हुँदै गए । तिनै बाघ लुक्ने ओढारमा अब सुन भेटिन थालेको छ ।

यस्तै चमत्कार गोरखाको धार्चे गाउँपालिका (३ खोर्लाबेशीमा भएको छ । प्रहरीले ओढारमा लुकाएर राखेको १६ किलो सुन बरामद गरेको हो ।

प्रहरीका अनुसार चुमनुब्री गाउँपालिका हुल्चुकका ब्यापारी धनकमल गुरुङले ओढारमा ढुंगामुनि उक्त सुन लुकाएर राखेका थिए ।

सुनका १६ वटा बिस्कुट फेला परेको प्रहरीले जानकारी दियो । बिहीबार प्रहरीले बरामद सुन सार्वजनिक गरेको हो ।

धनकमल काठमाडौंमा पक्राउ परेका थिए । उनले नै सुन लुकाएको स्थान देखाएको प्रहरीले जानकारी दियो ।

ओढारमा ढुंगामुनि झोलाभित्र हाते रुमालले बेरेर बोरामा सुन राखिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

असार ११ गते राति खच्चडलाई सुन बोकाएर गोरखाको उत्तरी सीमानाबाट धार्चे गाउँपालिकाको माछाखोलातर्फ आउँदै गर्दा लुटेरा समूहले आक्रमण गरेको उनले बताएका थिए ।

त्यसपछि उनी सम्पर्कविहीन भएका थिए । धनकमललाई प्रहरीले खोजी गर्यो र उनलाई आक्रमण भएको स्थान खोज्दै जाँदा सुन लुकाएको रहस्य खुलेको हो ।

यसअघि उनी स्थानीय वडा प्रमुखलाई फोन गरी आफू लुटिएको भन्दै गुहार मागेका थिए ।

सोही फोनका आधारमा उनलाई प्रहरीले पिछा गरेको थियो । गोरखाबाट लुटिएको फोन गरेका व्यापारी काठमाडौं भेटिएपछि प्रहरीले उनीमाथि नै अनुसन्धान केन्द्रित गरेको थियो ।