समाचार

भारतीयको नेपाली नागरिकता रद्द

काठमाडौं । सरकारले भारतीय नागरिकले लिएको नेपाली नागरिकता रद्द गरिदिएको छ ।

भारतीय नागरिक मुन्सीलाल पासीको नागरिकता प्रमाणपत्र रद्द गरी नेपाली नागरिकबाट हटाउने निर्णय गरिएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

तराई क्षेत्रमा भारतीय नागरिकले नेपाली नागरिकता लिने क्रम तीब्र छ ।

सरकारले भारतीयको नागरिकता रद्द गरी सम्बन्धित कर्मचारीमाथि पनि कारवाहीको प्रक्रिया अगाडी बढाउने गरेको छ ।

यसअघि गत असारमा पनि ५ जना भारतीयसँग रहेको नेपाली नागरिकता प्रमाणपत्र रद्द गर्ने निर्णय सरकारले गरेको थियो ।

सरकारले असारमा धनुषा, सप्तरी र रौतहट जिल्ला प्रशासन कार्यालयबाट जारी भएका नागरिकता रद्द गर्ने र उनीहरुलाई नागरिकता दिलाउन संलग्न व्यक्तिहरुलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

त्यसबेला सप्तरी जिप्रकाबाट जारी भएको जीवनकुमार सिंह, धनुषाबाट नागरिकता लिएका धमेन्द्र ठाकुर र अजयकुमार ठाकुर, रौतहटबाट जारी भएको जमुना राउत भन्ने यमुना सिंह र कृपाली राउत भनी चिनिने कृपाली सिंहको नागरिकता रद्द गरेको थियो ।